
खजुरा । बाँकेको खजुरा गाउँपालिकाले शिक्षा क्षेत्रको दश वर्षे योजनाको खाका निर्माण गरेको छ । गाउँपालिकाले माघ २४ देखि २६ गतेसम्म तीन दिने कार्यशालामार्फत शिक्षा क्षेत्रको दश वर्षे योजनाको खाका निर्माण गरेको हो ।
तयार गरिएको खाकामा खजुरा गाउँपालिकाको स्थानीय परिवेश सहितको बिषयबस्तु समेटिएको छ । जसले खजुराको शैक्षिक स्तरलाई नमूना बनाउन भूमिका निर्वाह खेल्नेछ ।
पालिकाले प्रारम्भिक बाल बिकास तथा शिक्षा, आधारभूत शिक्षा र माध्यमिक शिक्षा, उच्च शिक्षा र माध्यमिक शिक्षासंग उच्च शिक्षको सम्बन्ध, प्राबिधिक तथा व्यवसायीक शिक्षा, तालिम र अनौपचारिक शिक्षा, शिक्षक कर्मचारी व्यवस्थापन तथा बिकास र शैक्षिक सुशासन तथा गुणस्तर व्यवस्थापन, पाठ्यक्रम, पाठ्यसामाग्री तथा मुल्याँकन, शिक्षामा समतामूलक समावेशीकरण र मनोसामाजिक परामर्श र शिक्षामा सूचना र संचार प्रबिधि र संस्थागत संरचना क्षमता बिकास र अन्तरसम्बन्ध, आपतकालीन तथा संकटपूर्ण अवस्थामा शिक्षा र शिक्षण संस्थाहरको भौतिक पुर्वाधार निर्माण जस्ता बिषयबस्तुमा छलफल गरी खाका तयार गरिएको गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र बहादुर मल्लले जानकारी दिनुभयो ।
बुधबार समापन भएको कार्यक्रममा बोल्दै खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया बिकले खजुराले शिक्षा क्षेत्रको बिकास र गुणस्तर निर्माणका लागि पालिकाले बिभिन्न कार्यक्रमहरु संचालन गरेको बताउनुभयो ।
उहाँले खजुरामा संघमार्फत शिक्षा क्षेत्रको बिकासका लागि थुप्रै कार्य भएको पनि बताउनुभयो । निरन्तर भइरहेको बिभिन्न कार्यक्रमका बाबजुद शिक्षा क्षेत्रको सुधारका लागि शिक्षा क्षेत्रसंग सम्बन्धि नेतृत्व गर्नेहरुले नै बिशेष ध्यान पुर्याउनुपर्ने कुरामा जोड दिनुभयो ।
यस्तै कार्यक्रममा बोल्दै स्याक नेपालका अध्यक्ष शिवलाल पाण्डेले बाँके र बर्दियामा शैक्षिक क्षेत्रको बिकासका लागि संस्थाले बिभिन्न कामहरु गरिरहेको र खजुरा गाउँपालिकासंगको सहकार्यमा संस्थागत बिकासका लागि योजना निर्माणको कार्य गरिरहेको बताउनुभयो ।
उहाँले शिक्षा क्षेत्रको सुधारले नै पालिका तथा स्थानीय बिकासमा टेवा पुग्ने भएकाले स्याक नेपालले शैक्षिक क्षेत्रमा आवश्यक कार्यक्रमहरु संचालन गरेको बताउनुभयो ।
प्लान इन्टरनेशनल नेपाल र सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल) बाँकेको सहकार्यमा खाका तयार गर्न उक्त कार्यशाला संचालन गरिएको थियो । कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, शिक्षक संगठनका प्रतिनिधि, बिद्यालयका प्रधानाध्यापक, शिक्षक, स्याक नेपालका सुपरभाईजर रज्जब अलि वागवान लगायतको उपस्थिति रहेको गाउँपालिका शिक्षा शाखाका प्राबिधिक सहायक निर्मल रेग्मीले बताउनुभयो ।





