
नेपालगञ्ज । नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्र अन्तर्गत थप दुई नो लाइट तथा फ्युज सेवाहरुको बिहीबार उद्घाटन भएको छ।
राप्तिसोनारी गाउँपालिका वडा नं-८ शम्शेरगञ्ज तथा बैजनाथ गाउँपालिका वडा नं-३ गाभर चिसापानीमा नयाँ नो लाइट तथा फ्युजसेवा कार्यालय स्थापना भएका हुन् ।
नेविप्रा लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगन्जका प्रमुख सुरज गौतमले बिहीबार उक्त दुवै नयाँ नो लाइट तथा फ्युज सेवाहरुको कार्यकक्षको रिवन काटेर उद्घाटन गर्नुभएको हो ।
गौतमले सेवाग्राहीलाई सहज विद्युत सेवा उपभोग गर्न र विद्युतीय सेवा थप छिटोछरितो बनाउन थप मद्दत पुग्नेमा विश्वास व्यक्त गर्नुभयो ।
कोहलपुर वितरण केन्द्र प्रमुख सुरज रेग्मीको सभापतित्वमा आयोजित उद्घाटन कार्यक्रमको उक्त अवसरमा प्रदेश डिभिजन कार्यालय नेपालगन्जका सहायक प्रबन्धक टंकराज गिरी, नेपालगन्ज वितरण केन्द्र प्रमुख दिवाकर प्याकुरेल, लुम्बिनी प्रदेश डिभिजन लेखा प्रमुख गोबिन्द प्रसाद ढकाल, प्रशासन प्रमुख गोपालप्रसाद ओझा लगायतको विशेष उपस्थिति रहेको थियो ।
नयाँ स्थापित नो लाइट शाखाले स्थानीय स्तरमा छिटोछरितो विद्युतीय सेवा पुर्याउनेछन् । योसंगै कोहलपुर वितरण केन्द्रको मातहत रहेका नोलाइटहरुको संख्या ३ पुगेको छ । यसअघि सम्झनामा नो लाइट शाखा सञ्चालनमा थियो ।






