
नेपालगञ्ज । राप्ती सोनारी गाउँपालिकाको दशौं गाउँसभा बिहीबारबाट सुरु भएको छ । सभामा विभिन्न ५ वटा विधेयक पेश गरिएको छ ।
गाउँपालिकाले भुमी, स्वास्थ्य तथा सरसफाई, कृर्षी तथा पशुपंक्षी, खानेपानी तथा सरसफाई र स्वच्छता र नमुना वन सम्बन्धी विधेयक पेश गरेको हो ।
गाउँपालिकाका विधायन समितिका संयोजक एवम् वडा नम्बर ३ का वडाअध्यक्ष गंगाराम थारुले सभामा उक्त विधेयकहरु पेश गर्नु भएको थियो ।
सभामा पेश गरिएका विधेयकहरु अध्ययन गर्नका लागि सभामा उपस्थित हुनु भएका सदस्यहरुलाई वितरण गरिएको छ ।
गाउँपालिका अध्यक्ष लाहुराम थारुको सभाध्यक्षतामा बसेको गाउँसभामा गाउँपालिकाले गरेका कामको समिक्षा र भावी योजना तथा कार्यक्रमका बारेमा छलफल भएको थियो ।
सभाका सदस्यहरु तथा राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष मदनकुमार ओली, वडा नम्बर ६ का वडाअध्यक्ष जनकबहादुर थारु, वडा नम्बर १ का वडासदस्यद्धय रुद्रमणि ढकाल र टिकाराम बस्नेतले आफ्नो धारणा राख्नु भएको थियो ।
उक्त सभामा उठेका प्रश्न र जिज्ञासाको सभाध्यक्ष थारुले जवाफ दिनु भएको थियो । सभामा गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री, प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाही, वडाअध्यक्ष, वडासदस्य, कर्मचारी, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो । उक्त सभा आगामी फागुन २ गते पुनः बस्ने गरी स्थगित भएको छ ।





