दोस्रो चरणको प्रयास परियोजना सन्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर

गुलरिया । ठाकुरबाबा नगरपालिका गेरुवा ग्रामीण जागरण संघ, बर्दियाका बीचमा पालिकामा प्रयास परियोजनाको दोस्रो चरणको कार्यक्रम सन्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सो सम्झौता अनरुप गेरुवाले टिडिएच फाउन्डेसन, स्वीजरल्याण्ड (स्वीस विकास नियोग/स्वीस खानेपानी तथा सरसफाइ कन्सोर्टियम–दोस्रो चरणको साझेदारीमा) को आर्थिक तथा प्राबिधिक सहयोगमा सन् २०२२ को जनवरीदेखि डिसेम्बरसम्म सन्चालन गरिने उक्त परियोजनाले पालिकाको आधारभूत स्वास्थ्य सेवा, सुरक्षित खानेपानी र सरसफाइ लक्ष्य हासिल गर्न योगदान गर्ने जनाइएको छ ।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै ठाकुरबाबा नगरपालिकाका मेयर घननारायण श्रेष्ठले २०७८ मंसीर १६ गते ठाकुुरद्वारामा सम्पन्न कार्यशालाका क्रममा भएको सहमति अनुरुप ठाकुरबाबाका सबै घरधुरीमा उचित तरिकाले हात धुने अभ्यास सुनिश्चित गर्न अभियान चलाइने जानकारी दिनुभयो ।

त्यसै गरेर परियोजना कार्यान्वयनमा सहजीकरण गर्ने गेरुवा ग्रामीण जागरण संघ, बर्दियाका अध्यक्ष कृष्णजंग शाहले दोस्रो चरणको परियोजनाले पालिकाका स्वास्थ्य संस्था र विद्यालयहरुमा खानेपानी, सरसफाइ र स्वच्छताको दिगोपनका लागि पैरवी गर्ने अर्को महत्वपूर्ण कार्य रहेको बताउनुभयो ।

साथै आगामी दिनमा विद्यालय र स्वास्थ्य संस्थाहरुले सेवा प्रदान गर्न प्रयोग गरेका संरचनाहरुको समेत अध्ययन गरेर आवश्यकताको आधारमा थप क्रियाकलापहरु सन्चालन गरिने पनि जानकारी दिनुभयो ।

४२ लाख बढी लगानी गरिने परियोजनाबाट पालिका र वडाका नीति निर्माताहरु, नगर र वडा वास समन्वय समितिका सदस्यहरु, स्वास्थ्य संस्था सन्चालन तथा व्यवस्थापन समितिका सदस्यहरु, वास फिट टोली, स्वास्थ्यकर्मीहरु तथा सेवाग्राहीहरु, शिक्षकहरु तथा विद्यार्थीहरु, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु र समुदायका सदस्यहरु लाभान्वित हुने बताइएको छ ।

Previous articleराप्ती सोनारीको दशौं गाउँसभा, पाँच वटा विधेयक पेश
Next articleजुत्ता पसलमा आगलागी, ५ जनाको मृत्यु, ४ बालबालिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here