
डुडुवा । डुडुवा गाउँपालिकाले छात्रा प्रोत्साहन अन्तर्गत एसईई पास गरेका छात्राहरुलाई साइकिल वितरण गरेको छ ।
बजारसम्म गएर उच्च शिक्षा हासिल गर्न सहजता तथा उत्प्रेरणाका लागि गाउँपालिका अन्तर्गतका विद्यालयहरुका छात्रालाई साइकिल वितरण गरिएको हो । वि.स. २०७७ सालमा एर्सई पास गरेका गाउँपालिकाका ५ वटा माध्यमिक विद्यालयका १ सय २२ जना छात्रालाई साइकलि वितरण गरिएको हो ।
शनिबार एक समारोहका विच साइकिल वितरण गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले किशोरीहरुलाई उच्च शिक्षा हासिल गर्न प्रोत्साहन गरेको भन्दै भोलीका दिनमा उच्च शिक्षा हासिल गर्न बजार आउजाउ गर्न मद्दत पुग्ने बताउनुभयो ।
उहाँले विशेष गरि मधेशी समुदायका किशोरीहरु साधारण कक्षा पढेपछि विभिन्न कारणले उच्च शिक्षा हासिल गर्न नसकेको समस्यालाई यो कार्यक्रमले अन्त्य गर्ने बताउनुभयो । अध्यक्ष चौधरीले उच्च शिक्षा हासिल गर्न डुडुवा मै क्याम्पसको स्थापनाका लागि पहल शुरु भएको भन्दै त्यसले पनि किशोरी शिक्षा हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।
गाउँपालिका अन्र्तगत ५ वटा माध्यमिक विद्यालयका १ सय २२ जना छात्राले २०७७ सालमा एसईई पास गरेको शिक्षा शाखाले जनाएको छ । गाउपालिकामा गत वर्षसम्म ५ वटा मावि रहेकोमा यस वर्ष २०७८ मा शाहपुर्वा मावि कम्दी र जनता मावि होलियाको स्तरबृद्धि गरि मावि बनाइएको छ ।





