सुर्खेतरोड विस्तार गर्ने नाममा आतंक मच्चाएको भन्दै कांग्रेस नगर समितिको ध्यानाकर्षण

नेपालगञ्ज । नेपालगञ्जको सुर्खेतरोड विस्तार गर्ने नाममा सडक विभागले आतंक मच्चाइरहेको भन्दै नेपाली कांग्रेस नेपालगञ्ज नगर कार्यसमितिले बाँकेका प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ ।

नगर सभापति प्रशान्त विष्ट नेतृत्वको टोलीले सोमबार प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीलाई भेटेर मन्त्रीपरिषद्ले निर्णय गरेर कार्यान्वयनमा आइसकेको विषय विपरीत संरचना भत्काउनका लागि बहालमा बसेका संघसंस्था र बैंकहरुलाई पत्राचार गर्नु अवैधानिक भएको भन्दै तत्काल यो कार्य रोक्न माग गरेको छ ।

सडक विभागले गरिरहेको यस्तो कार्य भत्सर्ना योग्य भएको नेपालगञ्ज नगर कार्यसमितिको ठहर छ । सडक विस्तारका नाममा बर्षेनी जनतालाई आतंकित बनाउने र करोडौंका सम्पत्ति तोडफोड गर्ने कार्य गलत भएको समितिको भनाई छ ।

सुर्खेतरोड विस्तार गर्ने क्रममा यसअघि नै मन्त्रीपरिषद् स्तरीय निर्णयबाट विल्ट अप एरिया (बस्ती क्षेत्र) कायम गरी त्यस क्षेत्रमा २१ देखि २५ मिटरको बीचमा बनेका संरचना नभत्काई सडक विस्तार गर्ने विषय कार्यान्वयनमा आई निर्माण कार्य सम्पन्न भइसकेको अवस्थामा सडक विभागले हँचुवाको भरमा पत्राचार गरिरहेको नगर सभापति विष्टले बताउनुभयो ।

जयसपुरदेखि मनिकापुर चोकसम्मको सडकको दायाँबायाँ २१ मिटर नै कायम हुनुपर्ने विष्टको भनाई छ । यसअघि कार्यान्वयनमा आइसकेको निर्णय विपरीत घरधनी वा जग्गाधनीका नाममा नभई घरबहालमा बस्नेहरुका नाममा पत्राचार गरेर टर्चर गर्न खोजिनु विल्कुलै गलत छ, नियम विपरीत घर खाली गर्न र भत्काउन गरिएको ताकेता फिर्ता नभए हामी सशक्त आन्दोलनमा उत्रिन्छौं, सभापति विष्टले भन्नुभयो ।

कांग्रेस नेता एवम् विल्ट अप एरिया (बस्ती क्षेत्र) भित्रका एक जना घरधनी ललित रौनियारले सडक विभागको गलत हर्कतका विरुद्ध प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउन आफूहरु जिल्ला प्रशासन पुगेको बताउनुभयो ।

रौनियारले गणेशमान चोकदेखि कारकाँदोसम्मको ३ किलोमिटर क्षेत्र र कोहलपुरमा हाइ स्कुलदेखि चौराहसम्मको ८ सय मिटर क्षेत्रमा घरधनी वा जग्गाधनीलाई मर्का नपरोस् भनेर उक्त क्षेत्रलाई विल्ट अप एरिया (बस्ती क्षेत्र) तोकेर २१ देखि २५ मिटरमा बनेका संरचना कायमै राखेर सडक विस्तार गर्ने मन्त्रीपरिषद्ले नै निर्णय गरेर कार्यान्वयनमा आइसकेको कुरालाई उप्काएर आतंक सिर्जना गरिनु गलत भएको बताउनुभयो ।

त्यस क्रममा प्रमुख जिल्ला अधिकारी खत्रीले मन्त्रीपरिषद्ले गरिसकेको निर्णय कार्यान्वयनमा ल्याउनु आफ्नो कर्तब्य रहेको भन्दै त्यस अनुरुप नै यो विषयलाई हल गरिने बताउनुभयो ।

Previous articleरक्तसंचार सेवा केन्द्रको स्तरोन्नतीका सम्बन्धमा छलफल
Next articleसुर्जीगाउँमा श्रीमद् भागवत सप्ताह ज्ञान यज्ञ सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here