बाँकेको तेस्रो पालिका रुपमा खजुरा बाल विबाह मुक्त घोषणा

नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकालाई बालविवाह मुक्त गाउँपालिका घोषणा गरिएको छ ।

बालविवाह मुक्त अभियान सञ्चालन निर्देशिका अनुसार गाउँपालिकाका सबै वडालाई बालविवाह मुक्त घोषणा गरेपश्चात खजुरा गाउँपालिकालाई बालविवाह मुक्त घोषणा गरिएको हो ।

गाउँपालिकामा २० प्रतिशतभन्दा कम बालविवाह भए बालविवाह मुक्त घोषणा हुने प्रावधान अनुसार खजुरा गाउँपालिकालाई बालविबाह मुक्त पालिका घोषणा गरिएको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिनुभयो ।

गाउँपालिकालाई बालविवाह मुक्त घोषणा गर्न स्थानीय तहमा बालविवाह अन्त्य सम्बन्धि रणनीति, बालअधिकार समिति गठन सम्बन्धि कार्यविधि, बालसंरक्षण नीतिलाई टेकेर गाउँपालिका बालअधिकार संरक्षण समिति तथा विद्यालय र वडास्तरमा बालअधिकार समिति क्रियाशिल रहेकाले पालिकालाई बालविबाह मुक्त पालिका घोषणा गर्न सफल भएको बताउनु भयो ।

गाउँपालिकाका अध्यक्ष कक्षपतिले गाउँपालिकालाई बाँके जिल्लाकै तेश्रो बालविवाह मुक्त गाउँपालिका घोषणा गर्न सकेकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर रुपमा अभियानलाई निरन्तरता दिदै बालविवाहलाई शून्य अवस्थामा झार्न सबै सरोकारवाला निकायलाई अनुरोध गर्नुभयो ।

बालविवाह मुक्त गाउँपालिका घोषणा सभामा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय कुमार श्रीवास्तवले खजुरा गाउँपालिका बालविवाह मुक्त घोषणा भएको प्रमाणपत्र अध्यक्ष कक्षपतिलाई प्रदान गर्नुभएको थियो ।

घोषणा सभालाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका संयोजक श्रीवास्तवले बालविवाह मुक्त गाउँपालिका घोषणा हुन सफल भएकोमा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र साझेदार गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरुप्रति आभार प्रकट गर्नुभयो ।

उहाँले यहि फागुन अन्त्यसम्ममा जिल्लालाई बालविवाह मुक्त जिल्ला घोषणा गर्ने तयारी भईरहेको बताउँदै यो अभियानलाई सफल बनाउन स्थानीय तह, सरोकारवाला निकाय र गैरसरकारी संघ संस्थाहरुको पनि उत्तिकै भूमिका रहने उल्लेख गर्नुभयो ।

बालविवाह मुक्त पालिका घोषणा सभाका प्रमुख अतिथि लुम्विनी प्रदेशसभा सदस्य बाबुराम गौतम, बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।

खजुरा गाउँपालिकालाई बालविवाह मुक्त गर्न गरिएका प्रयास, पूरा गरिएका मापदण्ड र कार्यविधि बारे खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले उल्लेख गर्नु भएको थियो ।

खजुरालाई बालविवाह मुक्त घोषणा गर्न स्याक नेपाल बाँकेले बालविवाह रोकथाम परियोजनामार्फत साझेदारी गर्दै आएको जानकारी गराउदै बालविवाह मुक्त अभियान सञ्चालन निर्देशिका अनुसार, वडामा २० प्रतिशत भन्दा कम बालविवाह भए बालविवाह मुक्त घोषणा हुने प्रावधान रहेको स्याकका अध्यक्ष शिवलाल पाण्डेले जानकारी दिनुभयो ।

बाँकेमा यसअघि जानकी र बैजनाथ गाउँपालिका बालविवाहमुक्त घोषणा भईसकेको बताउँदै नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिका पनि घोषणाको तयारीमा रहेको स्याकका अध्यक्ष पाण्डेले बताउनुभयो । बाँकेका ८१ वडामध्ये हालसम्म ४३ वडा बालविवाहमुत्त घोषणा भईसकेका छन् ।

Previous articleबाँके सचिवका लागि यस कारण योग्य छन् आशिष !
Next articleकार्यकाल सकिएका १० भातृ संस्थाको समय नथप्ने कांग्रेस निर्णय

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here