सबैका प्रिय सापकोटा कांग्रेस उपसभापतिमा लड्ने घोषणा

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेको फागुन १३ गते हुने जिल्ला अधिवेशनका लागि उम्मेदवारी घोषणा गर्ने क्रम तीब्र बनेको छ । दिनहुँजसो उम्मेदवारी घोषणा गर्ने क्रम चलिरहेको छ ।

पदाधिकारीसहित सदस्य पदको उम्मेदवार बन्ने नेता कार्यकर्ताको सूची लामै छ । कतिले प्यानलसहित उम्मेदवारी घोषणा गरिसकेका छन् भने कतिले व्यक्तिगतरुपमा उम्मेदवारी घोषणा गरेका छन् ।

यसै क्रममा नेता सुरेन्द्रनाथ सापकोटाले उपसभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । पार्टीको विभिन्न जिम्मेवारीमा बसेर काम गरिसक्नुभएका सापकोटासंग नेपालगञ्ज नगर सभापतिदेखि जिल्ला कार्यसमिति सचिव भएर काम गरेको अनुभव छ ।२०५७ सालमा नेपालगञ्ज नगर सभापति भएर चार बर्ष काम गर्नुभएको सापकोटा २०६१ मा तत्कालीन वडा नम्बर २ को वडा सभापति हुनुभएको थियो । त्यही बेला उहाँ कांग्रेसको बाँके जिल्ला सचिव पनि बन्नुभयो । त्यसबेला उहाँले पार्टीमा दोहोरो जिम्मेवारी निभाउनुभभएको थियो ।

२०६६ सालमा तत्कालीन क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापति निर्वाचित भएर काम गर्नुभएका सापकोटाकै बेलामा स्वर्गीय पूर्व पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइराला यही क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित भएर प्रधानमन्त्री बन्नुभएको थियो ।२०६२/६३ को जनआन्दोलनमा पार्टी सचिवका हैसियतले सक्रिय भूमिका निभाउनुभएका सापकोटा आन्दोलन गर्ने क्रममा गिरफ्तारमा परी तीन महिना जेल समेत बिताउनु परेको थियो ।

पदमा रहँदा नरहँदा पार्टी जीवनमा सक्रिय सापकोटाले आसन्न जिल्ला अधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने बताउनुभएको छ ।

सक्षम, सुदृढ र गतिशील कांग्रेस बनाउन आफ्नो उम्मेदवारी रहेको सापकोटा बताउनुभयो । उम्मेदवारी घोषणा गर्दै उहाँले आफूलाई विजयी बनाउन मतदातालाई आग्रह गर्नुभयो ।

आइ एस्सीसम्मको अध्ययन गर्नुभएका सापकोटा हाल नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ का बासिन्दा हुनुहुन्छ । उहाँ पूर्व शिक्षक समेत हुनुहुन्छ ।

Previous articleखजुराका उद्यमीसंग कृषि पथ मोबाईल एप बारे छलफल
Next articleअपाङ्गता भएका व्यक्तिहरुका लागि सम्झौता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here