
नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकाको बैंक खाता रोक्का भएको छ । गाउँपालिकाको नाममा हिमालयन बैंक लिमिटेड सम्शेरगन्जमा रहेका विभिन्न १० वटा खातालाई कोष तथा लेखा नियन्त्रण कार्यालय नेपालगन्जले रोक्का गरिदिएको हो ।
बिगत १७ दिनदेखि रोक्का भएको बैंक खाता पुनः सञ्चालन गर्न गरिएको आग्रहलाई कोष तथा लेखा नियन्त्रण कार्यालयले बेवास्ता गरिरहेको गाउँपालिकाले जनाएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत पुस २ गते मनिराम खराललाई राप्ती सोनारीमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कामकाज गर्न र पुस ३ गते गाउँपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाहीलाई उहाँको दरबन्दी रहेको शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयमा काज फिर्ता गरिदिएको थियो ।
राप्ती सोनारीमा सरुवा भएका खराललाई जनप्रतिनिधीले हाजिर गराउन मानेनन् । जनप्रतिनिधीको असहमतिका बीच खरालले बलजफ्ती गरेर हाजिर हुन खोजेको कर्मचारी बताउँछन् ।
कर्मचारीका अनुसार गत माघ १६ गते गाउँपालिकाको लेटरप्याड प्रयोग गरी हाजिर भएको भनि नेपालगन्जस्थित कोष तथा लेखा नियन्त्रण कार्यालयलाई ‘अवैध पत्र’ खरालले बुझाएको र कोष तथा लेखा नियन्त्रण कार्यालयलाई माघ १७ गतेको मिति राखेर नयाँ खाता सञ्चालन नहुँदासम्म हाललाई गाउँपालिकाको खाता रोक्का गरिदिन अनुरोध सहितको पत्र बुझाएको कर्मचारीले बताए ।
गाउँपालिका अध्यक्ष लाहुराम थारुले खाता रोक्का हुँदा सेवाग्राहीलाई सास्ती हुनुका साथै कार्यालयको कामकाज प्रभावित हुन पुगेको बताउनुभयो । यसको सबै दोष कोष तथा लेखा नियन्त्रण कार्यालयले लिनुपर्ने उहाँको भनाई छ । गाउँपालिकाको बोर्ड बैठकले गरेको निर्णयलाई समेत कोलेनिकाले नमानेको अध्यक्ष थारुले बताउनुभयो ।
यस्तै गाउँपालिकामा कार्यरत नै रहेका प्रमुख प्रशासकीय अधिकृत शाहीले खाता रोक्का हुँदा समस्या सिर्जना भइरहेको बताउनुभयो ।
यता कोष तथा लेखा नियन्त्रण कार्यालय नेपालगन्जका (प्रमुख कोष नियन्त्रक) खडानन्द अधिकारीले गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत शाहीको काज फिर्ता भएको, नयाँ प्रमुख प्रशासकीय अधिकृत खराल हाजिर भएको र उहाँकै पत्र अनुसार खाता रोक्का गर्नु परेको तर्क गर्नुभयो ।
गाउँपालिकाको खाता रोक्का गरिएको सम्बन्धमा सबै कुरा लेखेर केन्द्रमा पठाइसकेको अधिकारीले बताउनुभयो ।





