
नेपालगन्ज । भारतको हरियाणा स्पोर्टस् क्लब आठौं संस्करणको सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । नेपालगञ्जस्थित कभर्डहलमा सोमबार भएको उपाधि भिडन्तमा हरियाणाले विभागीय नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो । प्रतिस्पर्धात्मक फाइनलमा हरियाणाले पुलिसलाई २६–२४, २५–२१, २५–२३ ले हराएको थियो ।
लिग चरणमा पनि हरियाणाले पुलिसलाई ३–२ को सेटमा पराजित गरेको थियो । उपाधिसँगै हरियाणाले ५ लाख रुपैया प्राप्त गरेको छ । दोस्रो भएको पुलिसले २ लाख ५० हजार प्राप्त गरेको छ ।
त्यसअघि सोमबार नै होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबमाथि २६–२४, २५–८, २६–२४ को सोझो सेटमा जित निकाल्दै विभागीय टिम त्रिभुवन आर्मी क्लबले प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ ।
यो सँगै आर्मीले डायमन्डलाई लिग चरण र नकआउट चरण दुवैमा पराजित गर्द सफल भयो । तेस्रो भएको आर्मीले १ लाख रुपैया प्राप्त गरेको छ । चौथो भएको डायमन्डले ५० हजार रुपैया प्राप्त गरेको छ ।
प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा एपीएफ, तेस्रो र चौथोमा रेलवे टिम इन्डिया, पाँचौंमा एपीएफ, छैटौंमा पुलिस र सातौंमा एपीएफ च्याम्पियन बनेका थिए । यस संस्करणमा एपीएफले भाग लिएको छैन ।
१० चैतबाट शुरु भएको प्रतियोगितामा नेपालका ४ र भारतका दुईसहित ६ टोलीको सहभागिता रहेको थियो । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो । मिस नेपाल वल्र्ड २०२० नम्रता श्रेष्ठ, नेपालगञ्ज उप महानगरपालिकाका मेयर धवल शम्सेर राणा, पश्चिम कमान्ड सेनापति उपरथी प्रेम शाही, ओलम्पियन दीपक विष्ट, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, कोषाध्यक्ष आङबाबु लामा, युक्यानका सिइओ राजन महर्जन, सगरमाथा सिमेन्टका प्रतिक अधिकारी, भैरवप्रसाद गणका गणपती जनमत कार्कीलगायतले विजेता, उपविजेता टोलीका खेलाडीलाई पुरस्कृत गरेका थिए ।
सगरमाथा सिमेन्ट मुख्य प्रायोजक रहेको प्रधानमन्त्री कपमा बैंकिङ पार्टनर राष्ट्रिय बाणिज्य बैंक, किट पार्टनर युक्यान, हस्पिटालिटी पार्टनर होटल सेन्टर प्लाजा, फुड पार्टनर मिठो छ, आइपिएस पार्टनर भायोनेट, थिम पार्टनर युएनडिपी रहेका थिए । मिस नेपाल वल्र्ड २०२० नम्रता श्रेष्ठ प्रतियोगिताको सद्भावना दुत रहेकी थिइन् ।





