
नेपालगञ्ज । दिगो विकास अभियन्ता तथा गायक रोहनरत्न बागचन्दले नेपालगञ्जबाट जस्टिस कन्सर्ट सांगितिक अभियानको थालनी गर्नुभएको छ ।
दिगो विकास लक्ष्य–१६ शान्ति न्याय र मजबुत संस्थाको स्थानियकरणका लागि विभिन्न गतिविधि गर्दै आएका गायक रोहन रत्न बागचन्दले विश्वमा बढ्दै गएको विभेद, हिंसा, गरिबीका कारण पुनः सबै मानव जातीले न्यायप्रति प्रतिबद्धता जनाउनु पर्ने बताउदै न्यायलाई नदि झै बग्न देउ भन्ने गीतबाट आफ्नो प्रस्तुती शुरु गर्नुभएको थियो ।
नेपाली अंग्रेजी र हिन्दी भाषाका गीतहरुव्दारा दर्शकलाई मन्त्र मुक्ध र भावुक पार्न सफल गायक तथा दिगो विकास अभियन्ता बागचन्दले जहाँ छन बुद्धका आँखा, बब मार्ली गेट अप स्ट्यान्ड अप, नारायण गोपालको तिम्रो जस्तो मुटु मेरो गीत गाउनुभयो ।
आफ्नो एकल सांगितिक प्रस्तुती समापनका क्रममा महात्मा गान्धीको मनपर्ने भजन वैस्णव जन भन्ने भजन गाएर समापन गर्नुभएको थियो ।
सर्वोच्च अदालतका न्यायाधीश प्रकाश कुमार ढुँगाना, उच्च अदालतका न्यायाधीशहरु, न्यायपालीकासँग सम्बन्धित व्यतित्व, वकिल, सुरक्षा निकायका प्रमुख तथा पदाधिकारी, न्यायिक समितिका पदाधिकारी, मानव अधिकारकर्मी र पत्रकार गरी करिब १०० जनाको उपस्थिती रहेको थियो ।
कार्यक्रमका परिकल्पनाकार प्रभाकर बागचन्दले संगीतले मानिसमा न्यायको भोक पैदा गर्ने मात्र नभएर एकले अर्काको पिडा महसुस गर्ने क्षमता विकास गराउने हुँदा जस्टिस कन्सर्ट आवश्यक भएको बताउनुभयो ।
आयोजक सूचनाको हकका लागि राष्ट्रिय महासंघका तर्फबाट अधिवक्त एवं अभियान्ता विश्वजीत तिवारीले कन्सर्टलाई अभियानको रुपमा महासंघले ७७ जिल्लामा आयोजना गर्ने सोच रहेको बताउनुभयो ।





