
नेपालगन्ज । नेपाली काँग्रेस बाँकेले आसन्न स्थानीय तहको निर्वाचन २०७९ को घोषणापत्र सार्वजनिक गरेको छ । ‘घरमै स्वास्थ्य सेवा, जनस्वास्थ्यमा लगानी’ भन्ने नाराका साथ काँग्रेसले आफ्नो घोषणापत्रमा स्वास्थ्य क्षेत्रलाई महत्वपूर्ण स्थान दिएको छ ।
काँग्रेसको घोषणापत्रमा गाउँ तथा नगरपालिकाभित्र रहेका सबै वडाहरुमा आभारभूत स्वास्थ्य सेवा केन्द्रहरुको भौतिक संरचनालाई सुधार गरी थपस्तर उन्नति गरिने उल्लेख गरिएको छ ।
महिला स्वास्थ्य स्वयम सेविकाहरुको सुविधालाई थप वृद्धि गर्नेदेखि सबै स्थानीय तहमा स्तरीय स्वास्थ्य सेवाको व्यवस्थापन गरिने उल्लेख छ ।
जेष्ठ नागरिक, असक्त, एकल महिला, द्वन्द्वपीडित, सीमान्कृत, विपन्न वर्गका बालबालिकाका लागि स्वास्थ्य वीमा, सवल स्वास्थ्य प्रणाली ‘घरमै स्वास्थ्य सेवा, जनस्वास्थ्यमा लगानी’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै गाउँ तथा नगरमा पूर्णरुपमा स्वास्थ्य बीमा कार्यक्रम लागु गरिने भएको छ ।
स्थानीयतहले आफ्नै लक्ष्य निर्धारण गरेर स्वास्थ्य संस्थामै सुत्केरी हुने संख्यामा उल्लेख्य बृद्धि गरी मातृ मृत्यु र शिशु मृत्युदर न्यूनिकरण गरिने उल्लेख छ ।
नसर्ने रोगहरुको बढ्दो चापलाई न्यून गर्न ४० वर्षमाथिका हरेक नागरिकलाई उच्च रक्तचाप, मुटु, मधुमेह, मृगौला रोग, श्वासप्रश्वास सम्बन्धी रोग, महिलाको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङलगायतका नियमित चेकजाँच वर्षमा एक पटक निःशुल्क गर्ने व्यवस्था, उपचार, स्क्रिनिङ, प्रवद्र्धन, परामर्श सेवाको लागि समय–समयमा वडा र समुदायमा घुम्ती शिविर आयोजना गर्ने काँग्रेसको घोषणापत्रमा उल्लेख छ ।





