“सामुदायिक विद्यालयमा बसका कुरा“

सामुदायिक विद्यालय अहिले विद्यार्थी परिवहनको नाममा बसमा आकर्षित भएको देखिएको छ ।

विद्यार्थी संख्या बढाउने तथा गुणस्तर बृद्धि गर्ने नाममा बस खरिद गर्न स्थानीय सरकार र प्रदेश सरकारसँग रकम माग गर्ने प्रबृत्ति बढेर आएको छ । पहुँच र गुणस्तरका लागि बस आबश्यक हो वा होइन भन्ने कुरामा मेरा नीजि बिचारहरु

१. प्राथमिक तहको हाम्रो खुद भर्ना दर करिव ९७ प्रतिशत पुगि सकेको छ । बाँकी ३ प्रतिशत बालबालिकाहरुलाई हार्ड कोर ग्रुपको रुपमा परिभाषित गरिएको छ । तिनलाई विद्यालयमा भर्ना गर्न परिवहनको साधनले सायदै सक्दैन होला । तिनका लागि बैकल्पिक बिधि वा अवसर लागतको प्रवन्ध गर्नु पर्ला ।

२. हाम्रा ऐन, नियम, नीति, योजना तथा निर्देशिकाहरुले एक विद्यालय र अर्को विद्यालयसम्मको दुरी यति हुनुपर्ने भनि कतै न कतै उल्लेख गरेको पाईन्छ । कुनै समयमा पहुँचको सुनिश्चितता गर्ने नाउँमा विद्यालयहरु बग्रेल्ती खुले । नयाँ खुलेका विद्यालयहरुमा पुराना विद्यालयका विद्यार्थीहरु बाँडिए । दुबै विद्यालयमा विद्यार्थी संख्या कमी रह्यो ।

३. २०७४ पछि स्थानीय सरकारले विद्यार्थी संख्या अति नै न्युन भएका विद्यालयहरुलाई मर्ज गर्ने नीति पनि लियो र केही विद्यालय मर्ज पनि भए ।

४. बसाई सराईका कारण परिमाणात्मक रुपमा पहाडी क्षेत्रमा विद्यार्थी संख्या घट्दै गयो भने तराई र शहरी क्षेत्रमा बढ्दै गयो ।

५. शहरी क्षेत्रका केही विद्यालयहरुले विद्यार्थी संख्या बढाउन आक्रामक योजना शुरू गरे । उनीहरुको पहिलो रणनीति माध्यमिक तहमा अंग्रेजी माध्यममा अध्यापन गराउने रह्यो । यस रणनीतिमा उनीहरु सफल रहे ।

सफल रहनुको कारणमा पहिलो कारण सरकारले उच्च शिक्षा अध्ययनका लागि प्रबन्ध गरेको आरक्षण रह्यो भने दोस्रो कारण वरिपरिका संस्थागत विद्यालयभन्दा त्यहाँको शिक्षा सुलभ हुनु । यसरी संस्थागत विद्यालयका राम्रा विद्यार्थीहरु ति विद्यालयप्रति आकर्षित भए ।

६. ति विद्यालयहरुको दोस्रो रणनीति सेवा क्षेत्र बाहिरका संस्थागत विद्यालयहरुबाट पनि उत्कृष्ट विद्यार्थीहरु तान्नु रह्यो । यसका लागि उनीहरुले विद्यार्थी परिवहन साधनको ब्यवस्था गरे । यसमा पनि उनीहरु पूर्ण रुपमा सफल भए । अंग्रेजी माध्यमलाई नै गुणस्तरको प्रयायको रुपमा लिएका अभिभावकको मन जित्न उनीहरु पूर्ण रुपमा सफल भए ।

७. उनीहरुको अर्को रणनीति आधार कक्षाबाटै अभिवावक र विद्यार्थीहरुलाई आकर्षित गर्ने रह्यो । यसमा उनीहरुको जोड पूर्व प्राथमिक कक्षाबाटै अंग्रेजी माध्यममा पठनपाठन गरि राम्रा विद्यार्थी भर्ना गर्ने रह्यो । उनीहरुले माध्यमिक तहको नतिजामा देखाएको उत्कृष्टताबाट अभिभावकहरु पूर्णरुपमा आकर्षित भए ।

८. शैक्षिक सत्रको भर्ना अवधिमा ति विद्यालयहरुमा भर्नाको चाप यति धेरै भयो कि उनीहरुले थेग्नै नसक्ने अवस्था सिर्जना भयो । भौतिक पूर्वाधारको अप्रयाप्त कारण देखाइ उनीहरुले प्रवेश परीक्षाको माध्यम अवलम्बन गरे । यसरी राम्रा विद्यार्थी मात्र भर्ना गर्ने उनीहरुको रणनीति सफल भयो ।

यसले एकातर्फ विद्यालयको नजिकैको विद्यार्थी ति विद्यालयमा अध्ययन गर्न बन्चित भएका छन् भने अर्को तर्फ १५÷१६ किमी रेडियसको क्षेत्रबाट परिवहन मार्फत ति विद्यालयहरुले विद्यार्थी ओसार पसार गर्ने गरेको अवस्था छ । अहिले ति विद्यालयले एउटा मानक तयार गरि सकेका छन् र उत्कृष्ट विद्यालयको रुपमा स्थापित भइसकेका छन् । स्रोत र साधन आफै जेनरेट गर्न सक्ने भै सकेका छन् ।

९. हाल आएर मध्यम खालका वा न्यून खालका केही विद्यालयहरुले पनि विद्यार्थी संख्या बढाउन परिवहन साधनलाई रणनीतिको रुपमा लिएको देखिन्छ । अब विद्यार्थी संख्या परिवहनले होइन अभिभावक तथा विद्यार्थीको मन जित्ने शिक्षण सिकाई क्रियाकलाप र उसले दिने नतिजामा भर पर्छ भन्ने कुरा हेक्का राख्नुपर्छ ।परिवहन साधन खर्चिलो हुन्छ, त्यसलाई ब्यबस्थापन गर्न अभिभावकको सहयोग चाहिन्छ । अभिभावकको क्रय शक्तिको ख्यालै नगरि विद्यार्थी ओसारपसार गर्नका लागि परिवहनको ब्यवस्था गर्दा विद्यालय आर्थिक संकटमा पर्छ भन्ने हेक्का राख्नु आबश्यक छ ।

सुन्नमा आए अनुसार त्यस्ता विद्यालयका बिद्यार्थीहरुले परिवहन खर्च नै दिएका छैनन् । दिन सक्दैनन् । यसको ब्यबस्थापन गर्ने योजना विद्यालयले कसरी गरेको छ ? आफ्नो सेवा क्षेत्र भित्रका विद्यार्थीहरुलाइ अन्यत्र जाने अबस्थाको अन्त्य गर्नु पहिलो काम हो ।

राम्रो नतिजा दिई अभिभावकको मन जित्न सकियो भने भर्ना समयमा विद्यार्थी चाप बढ्ने छ । त्यस पछि परिवहनको बारेमा सोच्नु ठीक होला । आफ्नै सेवा क्षेत्रका विद्यार्थी माथि उल्लेख गरिएका उत्कृष्ट विद्यालयमा गएका छन् भने तिनीहरुले कहाबाट विद्यार्थी ल्याउछन् ? सोच्नुपर्छ ।

१०. अहिले भर्ना अभियानकै समय हो । विद्यालयहरुले ब्यानरसहित घरदैलो गरेको देखिएको छ भने केही विद्यालयहरुले भर्ना खुल्यो भनि आवेदन माग गरेका छन् । घर दैलो अभियानमा सरिक हुने खालका विद्यालयहरुले परिवहनमा जोड नदिँदा ठीक होला । परिवहन टाढा बाट आउने विद्यार्थीका लागि हो । यसको अर्थ टाढा टाढाका अभिभावक पनि त्यस विद्यालयप्रति आकर्षित छन् भन्ने हुन्छ । आफ्नै सेवा क्षेत्र भित्रका विद्यार्थीहरु अन्यत्र जाने अवस्था सिर्जना भएको छ भने त्यहाँ टाढाबाट कसरी विद्यार्थी आउलान ?

११. बाँकेको एउटा विद्यालयमा बसको ब्यबस्था छैन, तर त्यस विद्यालयमा करिव २७ सय विद्यार्थीहरु अध्ययनरत रहेको जानकरी भयो । मैले प्रश्न गरेँ, यस विद्यालयमा कहाँ कहाँ का विद्यार्थी छन् ? जवाफ आयो धेरै पालिकाबाट आउछन् ।

कसरी ? अभिभावकले आफै लिएर आउनु हुन्छ, सार्वजनिक यातायातको साधनमा आउछन्, ठूला विद्यार्थीहरु डेरा लिएर बसेका छन्, तिनका भाइ बहिनी पनि सँगै बस्छन । टाढाका विद्यार्थीलाइ यातायात साधनमा हिड्नु भन्दा डेरा सस्तो हुन्छ, एउटै घरका धेरै भए भने छुट्टै कोठा लिन्छन, एक्लै भए साथी साथी मिलेर बसेका छन् आदि आदि । यसबाट स्पस्ट हुन्छ कि अभिभावकलाइ सन्तुष्टि दिन सकियो भने परिवहन नभए पनि विद्यार्थी संख्या बढाउन सकिन्छ ।

Previous articleप्रतिबद्धतासहित घरदैलो अभियानमा कमरुद्दिन राई
Next article३ सय ९० जना उम्मेद्वारहरु निर्विरोध निर्वाचित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here