
दाङ । जंगली जनावरको चोरी शिकार गर्न गएका एक जनाको गोली लागेर मृत्यु भएको छ।
लमही नगरपालिका वडा नं. १ का २३ वर्षीय भाक बहादुर पुनको गोली लागेर मृत्यु भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताउनुभयो ।
शुक्रबार राति करिब सात जनाको समूह जिल्लाको बंगलाचुली गाउँपालिका वडा नं. ८ र लमही नगरपालिका वडा नं. १ को जंगल क्षेत्रमा जंगली जनावरको शिकार गर्न भनेर गएको थियो ।
त्यही क्रममा आफैंले बोकेको बन्दुक पड्किएर पुनलाई घाँटीमा लागेको र उनको घटनास्थलमै मृत्यु भएको भन्ने खुल्न आएको एसपी काफ्लेले बताउनुभयो ।
‘शिकार खेल्न गएकामध्ये एक जनालाई जंगलमै गोली लागेको भन्ने सूचनाको आधारमा प्रहरी घटनास्थल पुगेको थियो,’ एसपी काफ्लेले भन्नुभयो, ‘प्रहरी पुग्दा घाइतेको मृत्यु भइसकेको थियो ।’
यसैबीच सँगै शिकार खेल्न गएकामध्ये ६ जनालाई प्रहरीले चार नाल भरुवा बन्दुकसहित पक्राउ गरेको छ । पक्राउ परेकामध्ये थप दुई जना नाबलक रहेको स्रोतले बताएको छ।
पक्राउ पर्नेहरूमा लमही नगरपालिका वडा नं. १ वसन्तपुरका २८ वर्षीय मृतक पुनका सहोदर दाइ मिनबहादुर घर्ती मगर, ४० वर्षीय जीवलाल घर्ती मगर, ४५ वर्षीय बुद्धिमान घर्ती मगर, ५० वर्षीय ओमबहादुर घर्ती मगर लगायका छन् ।
एसपी काफ्लेका अनुसार रूखमा अल्झिएर बन्दुक पड्कन गई पुनलाई लागेको भन्ने बयान पक्राउ परेकाहरूले दिएका छन् ।





