
नेपालगञ्ज । आर्थिक वर्ष २०७७/७८ बाट संकलित २३ जिल्लाका २१४ स्थानीय तहको तथ्याङ्क प्रशोधन गरी २ लाख २७ हजार गरिब घरपरिवार पहिचान गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।
त्यसैगरी आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म १५ जिल्लाका १८३ स्थानीय तहका ११ लाख ५० हजार तथ्याङ्क प्रशोधन कार्य शुरु भएको मन्त्रालयद्वारा प्रस्तुत आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
पन्ध्रौं योजनाको अन्त्यसम्ममा निरपेक्ष गरिबीलाई ९.५ प्रतिशत र बहुआयामिक गरिबी ११.५ प्रतिशतमा झार्ने लक्ष्य हासिल गर्नु थप चुनौतीपूर्ण बनेको सर्वेक्षणमा भनिएको छ ।
संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रमको सन् २०२० को प्रतिवेदन अनुसार नेपालको मानव विकास सूचकाङ्क अघिल्लो वर्ष ०.५७९ को तुलनामा सुधार भई ०.६०२ पुगेको छ ।





