
नेपालगञ्ज । सरकारले प्रत्येक परिवारलाई एउटा बिजुली चुल्हो अनुदानमा दिने घोषणा गरेको छ ।
संसदमा आइतबार प्रस्तुत आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा एक परिवारलाई एक विद्युतीय चुल्हो अनुदानमा दिने व्यवस्था गरिएको छ । यो कार्यक्रम स्थानीय तहमार्फत लागू हुनेछ ।
सर्वसाधारणले आफ्नो गाउँपालिका, नगरपालिका वा महानगरपालिकाका माध्यमबाट अनुदानको बिजुली चुल्हो प्राप्त गर्न सक्नेछन् ।
विद्युतको पहुँचबाहिर रहेका घरपरिवारका हकमा धुवाँमुक्त भान्छा अभियानअन्तर्गत सुधारिएको चुल्हो वितरण गरिनेछ ।
सरकारले भारतबाट आयात गरी उच्च अनुदानमा बिक्री गर्दै आएको खाना पकाउने एलपी ग्यासको प्रयोग निरूत्साहित गर्ने नीतिअनुरूप बिजुली चुल्हो र सुधारिएको चुल्हो प्रवर्द्धन गर्ने घोषणा गरेको हो ।
खाना पकाउन बिजुली चुल्होको प्रयोगलाई बढावा दिन बिजुलीमा अनुदान दिने पनि अर्थमन्त्रीले बताएका छन् । बिजुली नभएका ठाउँमा बायोग्यास र सुधारिएको चुल्हो प्रयोग गर्न प्रोत्साहित गरिनेछ ।
सरकारले एलपी ग्यास निरूत्साहित गर्ने कार्यक्रम सरकारी कार्यालयहरूबाटै सुरू गर्ने भएको छ । यसअन्तर्गत साउन महिनाभित्र सिंहदरबारमा एलपी ग्यास सिलिन्डर प्रयोग नगरिने बजेट वक्तव्यमा छ ।
त्यस्तै तीन महिनाभित्र महानगर र उपमहानगरका सरकारी कार्यालय र निवासमा ग्यास सिलिन्डर प्रयोग निरूत्साहित गरिनेछ ।





