कार्यपालिका सदस्यले लिए सपथ, राजनीति गर्ने छुट दिइने छैन : विष्ट

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले उपमहानगरपालिकाभित्र जनप्रतिनिधी र कर्मचारीलाई राजनीति गर्न छुट नदिने बताउनुभएको छ ।

नव निर्वाचित कार्यपालिका सदस्यहरुलाई मंगलबार सपथग्रहण गराउँदै नगर प्रमुख विष्टले राजनीति गर्ने चाहना भए सरकारी सेवाबाट अलग रहन कर्मचारीहरुलाई सचेत गराउनुभयो ।

उहाँले नगर प्रमुख र उपप्रमुख समान भएको भन्दै कार्यपालिका सदस्यहरुलाई बैठकमा दलीय प्रभावबाट मुक्त रहन आग्रह गर्नुभयो ।

नेपालगञ्ज बनाउन जनताले बिश्वास गरेको भन्दै उहाँले जनताले मतदान गरेर गरेको सहयोगलाई असल काम गरेमा मात्रै ऋण तिर्न सकिने बताउनुभयो ।उपप्रमुख कमरुद्धिन राईले पार्टीगत प्रतिष्पर्धाबाट निर्वाचित भएको भएपनि अबका दिनमा सबैजना मिलेर नमूना र सुन्दर शहर बनाउन लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले कार्यपालिकाले नगरको वृहत्तर हितमा निर्णय गर्ने बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत जगतवहादुर बस्नेत लगायत कर्मचारी र जन निर्वाचित पदाधिकारीहरुको सहभागिता रहेको कार्यक्रममा कार्यपालिका सदस्यहरु वशन्त कनौजिया, बिक्रम चिडिमार, विना थापा, शोभा खटिक, संगीता रेग्मी, अमृता कुमारी सिंह, कुमारी पुष्पा सिंह र मोहम्मद मुजम्मिल हुसेन हल्वाईले सपथ लिनुभएको छ ।

Previous articleश्रीमान झुन्डिएको र श्रीमतीको घाँटी रेटेको अवस्थामा शव फेला
Next article१३ जिल्लाका युवा समिति अध्यक्ष नियुक्त

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here