
काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले पिछडा वर्गका लागि छुट्टै आयोग गठन गर्नुपर्ने बताउनुभएकाे छ ।
राजधानीमा आयोजित ५० लाख जनसंख्या रहेको पिछडावर्गको राष्ट्रिय सम्मेलन २०७९ को कार्यक्रममा प्रमुख आतिथीका रुपमा सम्बोधन गर्दै नेता महरले पिछडिएका वर्गको हकहित नभएसम्म देश विकास हुन नसक्ने बताउनुभएकाे हाे ।
नेपाली कांग्रेसका संस्थापक नेता विपी कोइरालाको भनाई स्मरण गराउँदै नेता महरले कुनै वर्ग जातीलाई पछाडी राखेर मुलुकमा समान र समग्र विकास हुन नसक्ने बताउनुभयाे ।
नेता महरले कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयाे,’ सबै जाति भूगोल र समाजको एकीकृत विकास नै कांग्रेसको अवधारणा हो । ०६२/०६३ बाट मुख्य उपलब्धीको रुपमा प्राप्त नेपालको संविधान २०७२ मा उल्लेख गरिएउको समावेशिता वैधानिक रुपमा लागू गराउने पार्टी कांग्रेस हो ।
नेता महर थप्नुभयाे,’ समाजको विकास र रुपान्तरणका लागि महासंघले महत्वपूर्ण भूमिका खेल्ने कुरामा मैले विश्वास लिएको छु । संस्थालाई व्यक्ती हितभन्दा पनि संस्थाको उद्धेश्यमा केन्द्रीत गराउनुपर्छ,’ उहाँले भन्नुभयाे ।
नेता महरले नेपालमा वैधानिक रुपमा समावेशी प्रणााली लागू गर्ने पहिलो पार्टी पनि नेपाली कांग्रेस रहेको दाबी गर्नुभयो ।
नेपालको संविधानले परिकल्पना गरेको समाजवाद उन्मुखको अर्थ नै सबै वर्गको समान प्रकृतिको विकासको कल्पना नै भएको महरको भनाई थियो ।
नेविसंघको अध्यक्ष हुँदादेखि नै शिक्षा, स्वास्थ्य लगायतका आधारभूत कुराहरु गरिब र विपन्नका लागि निःशुल्क गर्नुपर्ने माग जोडदार रुपमा नेता महरले उठाउदै आउनुभएकाे छ ।





