दाङ क्षेत्र नं ३ बाट हेमन्त मल्लको स्वतन्त्र उम्मेदवारी

दाङ । ‘वहुदलवादी’ नेता भनेर चिनिने हेमन्तबहादुर मल्ल (गणेश) ले आगामी संसदीय निर्वाचनमा ‘स्वतन्त्र’ उम्मेदवारी दिने तयारी गर्नुभएकाे छ ।

लामो समयसम्म वकालत गर्दै आएका उहाँले आफ्नो उम्मेदवारी घोषणा भने केही दिनपछि गर्नुहुनेछ । मल्लले आगामी निर्वाचनमा दाङको क्षेत्र नं ३ बाट उम्मेदवारी दिने तयारी गर्नुभएकाे हाे ।

त्यसबारे आफूले लोकतान्त्रिक समूहहरूसँग छलफल गरिरहेको र केही दिनपछि औपचारिक रूपमा घोषणा गर्ने पनि जनाउनुभयाे ।

त्यसका लागि उहाँले स्थानीय स्वतन्त्र समूहहरूसँग पनि छलफल अघि बढाउनुभएकाे छ ।

दाङको क्षेत्र नं ३ बाट २०७४ सालमा हिराचन्द्र केसीले जित्नुभएकाे थियाे । त्यो बेला नेकपा एमालेबाट उम्मेदवार भएका केसी अहिले भने नेकपा एकीकृत समाजवादीमा हुनुहुन्छ । केसीले नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरीलाई पराजित गर्नुभएकाे थियाे ।

यो निर्वाचन क्षेत्र दाङका अर्का नेता दीपक गिरी चुनाव लड्ने क्षेत्र पनि हो । २०७० सालको दोस्रो संविधानसभाको चुनाव जितेर गिरि मन्त्री पनि हुनुभएको थियाे । मल्लले यही क्षेत्रबाट चुनाव लड्ने तयारी गर्नुभएकाे छ ।

कुनै बेला ‘बहुदलवादी’ नेता भनेर पश्चिम दाङमा जवर्दस्त नेताको पहिचान बनाउनुभएका मल्ल त्यसपछि पनि कानुन व्यवसायी हुनुभयो ।

‘लामो समय वकालत गर्नुभयाे । अब स्वतन्त्र उम्मेदवारी दिने तयारीमा छु’ उहाँले भन्नुभयाे ‘मैले त्यसका लागि लोकतान्त्रिक समूहका साथीहरूसँग सरसल्लाह गर्दैछु र केही दिनपछि घोषणा गर्नेछु ।’

व्यक्तिगत स्वतन्त्रता, आर्थिक समृद्धि र आत्मसम्मानको लडाईंलाई प्राथिकतामा राखेर आफू चुनाव लड्ने उहाँले बताउनुभयाे ।

‘यस समाजलाई करमुक्त र अपराधरहित बनाउन सकिन्छ भन्ने मेरो उद्देश्य हो’ उहाँले भन्नुभयाे ‘कुनै बेला व्यवस्था परिवर्तनका लागि लडें अब स्वतन्त्र भएर जनताको सेवा गर्नेछु ।’

त्यो बेला नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको नजिक भएर सक्रिय हुनुभएका मल्ल पछि कानुन व्यवसायी भएपछि राजनीतिबाट टाढिनुभएकाे थियाे ।

नेपाल विद्यार्थी संघमा सक्रिय रहनुभएका उहाँ पञ्चायत विरोधी आन्दोलनमा त्यो बेला निकै चर्चित वक्ता हुनुहुन्थ्यो । देशभरिबाट उहाँलाई भाषणका लागि बोलाउने गरिन्थ्यो ।

कानुनमा स्नाकोत्तर गर्नुभएका मल्ल अब कानुनमै पिएचडीको तयारीमा हुनुहुन्छ ।

Previous articleनेपालगञ्जको बजेट एक अर्व ६३ करोड ६५ लाख, के के छन कार्यक्रम हेर्नुस्
Next articleसरोकारवालासँग स्थानीय तह निर्वाचनको समिक्षा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here