
नेपालगञ्ज । बाँकेमा ठुलो मात्रामा लागुऔषध अफिम पक्राउ परेको छ । सुर्खेतबाट नेपालगञ्ज आउँदै गरेका र बाँकेको चिसापानी चेकप्वाईन्टबाट फरार व्यक्तिलाई पक्राउ गर्दा तीन किलो ८ सय ग्राम लागुऔषध अफिम बरामद भएको हो ।
बैजनाथ गाउँपालिका वडा नं १ स्थित चिसापानीस्थित नेपाली सेनाको चेकप्वाईन्टमा आइतबार बिहान साढे नौ बजेको समयमा चेकजाँच गर्ने क्रममा सुर्खेतबाट आउँदै गरेका जाजरकोटको नलगाड नगरपालिका वडा नं ३ का २५ वर्षीय गोपाल रोकायले बोकेको झोलामा उक्त लागु औषध फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरिक्षक ऐन बहादुर मल्लले जानकारी दिनुभयो ।
‘नेपाली सेनाको चेकपोष्टमा चेकजाँच गर्ने क्रममा रोकाय चेकप्वाईन्टबाट जंगलतर्फ भागेका थिए,’ प्रमुख मल्लले भन्नुभयो, ‘लगत्तै जंगलमा रहेको सेना, बाँके राष्टिय निकुञ्ज र इलाका प्रहरी कार्यालय चिसापानीको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।’
पक्राउपछि रोकायले दिएको बयानका आधारमा प्रहरीले थप एक जना कोहलपुरबाट पक्राउ गरेको छ । डिएसपी मल्लले रोकायलाई पक्राउ गरेर अनुन्धान गर्दा नगलगाड नगरपालिका वडा न ३ कै २५ वर्षीय लेखराज बिष्टलाई कोहलपुर वडा नं १२ चप्परगौडीबाट आइतबार बेलुका ६ बजेतिर पक्राउ गरेको बताउनुभयो ।
उनीहरुलाई लागु औषध नियन्त्रण ऐन २०३३ को दफा ४ (ङ), (च) अनुसार सोही ऐनको दफा १४ (छ) ३ बमोजिम सजाय हुने प्रहरीले जनाएको छ ।





