
नेपालगञ्ज । भेरी अस्पतालमा कार्यरत डा.सुरेश कुमार नागले एक वर्षदेखि नियमित ड्यूटी नगरेपछि अस्पताल प्रशासनले कारबाहीका लागि पत्र काटेको छ ।
भेरी अस्पतालमा कार्यरत वरिष्ठ कन्सल्टेन्ट सर्जन डा.नागलाई अस्पताल प्रशासनले पटक पटक जिम्मेवारी निर्वाह गर्न अनुरोध गर्दा सुधार नभएपछि कारबाहीका लागि मन्त्रालयलाई पत्र लेखेको हो ।
‘विगत देखि नै आफ्नो ड्युटी गर्न समयमा नआउने लापर्बाही गर्ने गरेको पाइएको छ,’ अस्पताल बिकास समितिका सदस्य कृष्ण प्रसाद श्रेष्ठले भन्नुभयोे, ‘विकास समितिको तर्फबाट पटक पटक सुध्रिन अनुरोध गर्दासम्म समेत अटेर गरेको पाइयो, बाध्य भएर कारबाहीका लागि पत्र काटिएको हो ।’
अस्पतालले यसअघि पनि डा.नागलाई कारबाहीका लागि मिति २०७८ साउन २२ गतेको समितिको निर्णय अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्र पठाइएको थियो । तर हालसम्म पनि कुनै प्रकारको कारबाही नभएको जनाएको छ ।
पछिल्लो पटक मिति २०७९ असार २० गते अस्पताल प्रशासनमा आएर डा.नागले असार २९ गतेसम्मको हाजिरी गरेको अस्पताल बिकास समितिले जनाएको छ । ‘अग्रिम हाजिरी गरी आफ्नो उत्तरदायित्व र कर्तव्यबाट बिमुख भएको पाइएको छ ।’ बिकास समिति सदस्य श्रेष्ठले भन्नुभयोे, ‘नियमानुसार कारबाहीका लागि जिल्ला प्रशासनमा बाँकेमार्फत पुनः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पठाएका छौं ।’
वरिष्ठ डाक्टरले नै अटेर गर्ने र आफ्नो नीजि अस्पतालमा मात्र ध्यान दिँदा अस्पतालमा उपचार गर्न आउने सर्वसाधारणले सास्ती भोग्नु परेको छ भने राज्यको सेवा सुबिधा लिएर गैह्र जिम्मेवार काम गर्नु गलत भएको अस्पताल प्रशासनको भनाई छ ।






