
नेपालगन्ज । मुस्लिम समुदायले दुःख प्रकट गरी मनाइने मोहर्रम पर्वको अन्तिम दिन विविध कार्यक्रमका साथ मोहर्रम पर्व सम्पन्न भएको छ ।
अरेबिक क्यालेन्डर अनुसार पाँच देखि दस तारीखसम्म निरन्तर विविध कार्यक्रम गरेर मनाइने मोहर्रम पर्वको अन्तिम दिन ताजिया विसर्जन गरेर मोहर्रम पर्वको सम्पन्न भएको हो ।
मुस्लिम समुदायले मोर्हरमको ९ तारिख सोमबार राती घरघरमा स्थापना गरेका ताजिया मंगलबार बेलुका नगरका विभिन्न भागबाट शुरु भई हुसैनी जुलुस फुलटेक्रास्थित कर्बलामा पुगेर ताजिया विसर्जन गरी मोहर्रम पर्व समापन भएकाे हाे ।
ताजिया बिर्सजन गर्न लैजाने क्रममा नेपाल मोहर्रम समिति धम्बोझीले मोर्हरम पर्वको अवसरमा कैयौ जनालाई सम्मान समेत गरेको छ ।
सम्मानित हुनेमा न्युज फ्ल्यास खबरका प्रकाशक/सम्पादक अरशद शेष राई, अधिकारकर्मी एवं पत्रकार साहिल अंसारी, इमरान हल्वाई र पत्रकार जाबेद अन्सारी लगायतलाई हुसैनी शाफा लगाएर सम्मान गरेको हो ।
अरेबिया क्यालेन्डर हिजरी सम्वतको मोहर्रम पहिलो महिना हो । इराकको कर्वलामा पैगम्बर मोहम्मद सल्लल्लाहु अलैहे वसल्लमका नाति हजरत ईमाम हुसैनसहित परिवारका सदस्य र अन्य शहिदहरूको सम्झनामा मोहर्रम पर्व मनाउने प्रचलन सदियौंदेखि चल्दै आएको छ ।
पर्वको अवसरमा बाँकेका जानकी र नरैनापुर गाउँपालिकाले सार्वजनिक बिदा दिएका थिए ।





