
बाँके क्षेत्र नं २ बाट निर्वाचित सांसद मोहम्मद इस्तियाक राई भौतिक तथा यातायात मन्त्री भएदेखि नेपालगञ्जको विकासमा केहि चासो देखिएको छ । आफ्नै क्षेत्रको संसद मन्त्री भएपछि जनताले पनि अपेक्षा गर्नु सामान्य नै हो ।
साथ साथै कुनैपनि स्थानको विकास सामान्य प्रकृया अन्तर्गत हुनु पर्दछ र आम जनताले यसको अनुभव गर्न पाउँनु पर्दछ । तर केहि दिन एता नेपालगञ्ज र कोहलपुरमा आकासे पुल बन्ने भन्ने कुरा सामाजिक सञ्जाल तथा पत्रपत्रिकाहरुमा निकै छाएका छन् । यो स्तम्भ लेखिरहँदा, विकास विरोधीभन्दा पनि दिगो विकास होस् भन्ने लागेको छ ।
आकासे पुल सभ्य शहरको सुचक पनि हो । जहाँ यातायात साधनहरुको भिडभाड (जाम) रहन्छ, सर्वसाधारणले सहजै बाटो काट्न नसक्ने खालको रहन्छ, त्यस ठाँउमा आकासे पुल निकै उपयोगी पनि रहन्छ ।
हामीलाई थाहा छ, ललितपुरको रातो मछिन्द्रनाथको रथ तान्ने बाटोमा आवश्यक भएपनि आकासे पुल राखिएको छैन, र बिदेश तिर पनि ठुला पानी जहाज चल्ने स्थानमा पुल बने पनि त्यसलाई खोल्न मिल्ले गरेर बनाइएका छन् ।
त्यही दुरदर्शिताको कमीले हाम्रो नेपालगञ्जको सीमा नाका दशगजामा बनेको नेपाल भित्रने गेट नाम मात्रको विचमा ढडिएको छ । जमुनाहा नाका नेपालगञ्ज शहरको मात्र नभएर पश्चिम नेपालको मुल प्रवेशद्वार पनि हो । विशेष गरि कर्णाली र पश्चिम क्षेत्रमा नै दैनिक जीवनका उपभोग्य बस्तुदेखि विकास निर्माणको औजारहरु यही बाटो भएर भित्रने गर्दछ ।
यस कारण रुपैडिहा नाकादेखि कोहलपुरसम्मको सडक खण्डमा बन्ने जति पनि संरचनाहरु छन्, नेपाल भारत नाकामा बनेको गेट जस्ता बाधक र देखावटी मात्र पनि नबनोस् । सबैलाई थाहा छ, आजभोलि नाकाको गेटबाट साइकल र मान्छे मात्र हिड्ने गर्दछन्, ठुला सवारी साधनहरु गेट भएर हिड्न मिल्दैन ।
साथ साथै नेपालगञ्जमा हुने र भएका विकासका कामले पश्चिम नेपालमै अनुसरण गरिने हुँदा, देखावटी भन्दा पनि यस क्षेत्रको दिगो विकासका अवधारणासहितका विकास निमार्ण होस् । त्यसैले यो राजमार्गमा आकासे पुल बन्दा यी र यस्ता विषयहरुलाई पनि ध्यान दिन जरुरी देखिन्छ ।





