
नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा रहेको महेन्द्र पुस्तकालयको अमृत महोत्सव मनाइएको छ । शुक्रबार ७५ औँ वर्ष पुरा गरेको पुस्तकालयको शुक्रबार अमृत महोत्सव मनाइएको हो ।
महोत्सवका अवसरमा पुस्तकालयको स्थापनाकालदेखि २०५४ सालको कार्यसमितिसम्म विभिन्न भूमिकामा रहेर सहयोग पु¥याएका कार्यसमिति सदस्य तथा कर्मचारी गरि ७५ जनालाई सम्मान गरिएको छ ।
यसैगरी, गत साउन २१ गते स्थानीय विभिन्न माध्यामिक विद्यालयमा सम्पन्न ‘विद्यार्थी जीवनमा पुस्तकालयको महत्व’ शिर्षकको निवन्ध प्रतियोगिताका विजेताहरुलाई पुरस्कार समेत प्रदान गरिएको छ ।
सम्मानित व्यक्ति तथा विजेता विद्यार्थीलाई कार्यक्रमका प्रमुख अतिथि बाँके क्षेत्र नं.२ बाट निर्वाचित सांसद भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राइले दोसल्ला, सम्मानपत्र तथा पुरस्कार प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा मन्त्री राइले पुस्तकालयको विकासका लागि संघीय, प्रदेश र स्थानीय सरकारवाट हुनसक्ने सहयोगका लागि पहल गर्ने आश्वासन दिनुभयो ।
मन्त्री राइले तत्कालका लागि आप्mनोतर्पmबाट पुस्तकालयलाई रु ३ लाख दिने घोषणासमेत गर्नुभयो । ‘यो पुस्तकालय नेपालगञ्जको धरोहर हो । यसको विकास र संरक्षण सबैपक्षवाट हुन जरुरी छ ।’ मन्त्री राइले भन्नुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका बन बातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमाल, प्रदेशसभा सदस्यद्वय आइपी खरेल र कृष्णा केसी नमूनालगायतको पनि उपस्थिति थियो ।
बि.स.२००३ सालमा ‘प्रेम पुस्तकालय’ को नामपछि महेन्द्र पुस्तकालय नाम राखिएको हो । महेन्द्र पुस्तकालयलाई २०७८ चैत २९ गते तदर्थ समिति गठन गरी क्रियाशील बनाइएको छ ।
यस्तै यसै अवसरमा पुस्तकालयले शनिबार दिउँसो २ बजे मुसायराको आयोजना गरेको पुस्तकालय तदर्थ समितिका अध्यक्ष बलराम यादवले बताउनुभयो ।





