नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको निधन भएको छ । ७५ वर्षको उमेरमा नेता गिरिको उपचारको क्रममा ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा शनिबार राति ९ः३६ मा निधन भएको अस्पताल स्रोतले जनाएको छ ।

नेता गिरीको एक महिनादेखि नेपाल मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो । क्यान्सरको समस्या देखिएपछि उहाँको भारतमा उपचार भएको थियो । उपचार गरेर फर्के लगत्तै स्वास्थ्यमा समस्या आएको थियो ।

त्यसपछि उहाँ एक महिनाअघि मेडिसिटी अस्पताल भर्ना हुनुभएको थियो । उहाँलाई निमोनिया देखिएको थियो । निमोनियासँगै क्यान्सरबाट उत्पन्न समस्याले च्यापेपछि उहाँका सबै अंगले काम गर्न छाडेको परिवारजनले बताएका थिए ।

पछिल्लो केही सातादेखि उहाँलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । केही दिनदेखि मान्छे चिन्न र बोल्न छाड्नुभएको थियो ।

सिराहामा जन्मिनुभएका नेता गिरी भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभएको थियो ।

उहाँका पिता नेत्रलाल गिरी कांग्रेसका नेता हुनुहुन्थ्यो । पिताबाट राजनीतिमा लाग्नुभएका उहाँ २०१७ सालमा कांग्रेसमा आवद्ध हुनुभएको थियो ।

२०२५ देखि २०४२ सालसम्म पटक पटक गरि चार वर्ष जेल जीवन बिताउनुभएको नेता गिरीले कांग्रेस केन्द्रीय सदस्य र प्रतिनिधि सभा सदस्य रहेपनि अन्य दलका नेता र कार्यकर्तामाझ पनि लोकप्रिय हुनुहुन्थयो ।

उहाँले एक दर्जन भन्दा बढी पुस्तक समेत लेख्नुभएको छ । महात्मा गान्धीका अनुवायी गिरी नेपालमा मार्क्सवादको राम्रो ब्याख्या गर्नसक्ने व्यक्तिमा पर्नुहुन्छ ।

Previous articleकाठमाडौं जान लागेका शाह ब्राउन सुगरहित नेपालगन्ज एयरपोर्टबाट पक्राउ
Next articleमहिलाहरुलाई उत्प्रेरित गर्न नेपालगञ्जमा रक्तदान, ४२ जना सहभागि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here