
नेपालगन्ज । नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले मंसिर ४ को निर्वाचनलाई अर्जुनदृष्टि बनाएर पार्टी अगाडि बढिरहेको बताउनुभएकाे छ ।
नेपाली कांग्रेस बाँकेले आज पार्टी कार्यालय नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा सभापति गौडेलेले नेपाली कांग्रेस बाँके एक्लै चुनाव लड्न सक्षम रहेको बताउनुभयाे ।
‘हामी एक्लै चुनाव लड्न सक्षम छौं, संघका ३ र प्रदेशका ६ निर्वाचन क्षेत्रमा कांग्रेस एक्लै जीत हासिल गर्न सक्ने अवस्थामा छ ।, उहाँले भन्नुभयो, तर केन्द्रले सत्तारुढ दलहरूबीच चुनावी तालमेल गर्ने निर्णय कार्यान्वयनका लागि निर्देश गरे हामी त्यसमा पनि प्रतिबद्ध हुनेछौं ।´
उहाँले बाँकेमा एक्लै चुनाव लड्ने सन्देश केन्द्रीय नेतृत्वलाई दिइसकेको समेत बताउनुभयाे ।
सभापति गौडेलले स्थानीय चुनावमा हासिल गरेको उपलब्ध अभूतपूर्व रहेको बताउँदै आउने चुनावमा पनि यस्तै सुखद नतिजा हात पार्ने अभियानमा अर्जुनदृष्टिका साथ लागेको बताउनुभएकाे हाे ।
उहाँले बाँकेका पत्रकारहरुले तटस्थ र निष्पक्ष समाचार सम्प्रेषण गरेर स्वस्थ पत्रकारिताको अभ्यास गरिरहेको भन्दै मुक्तकण्ठले प्रशंसा गर्नुभयाे ।
भेटघाट कार्यक्रममा प्रदेश कमिटी सदस्य प्रमेश्वरी पाठक, तरुण दलका पूर्व महासचिव एवम् कांग्रेस नेता हुर्मत न्यौपाने, कांग्रेस बाँकेका उपसभापतिद्वय गोपालप्रसाद अधिकारी र कृष्णबहादुर कार्की, सचिव सुधांशु कोइराला, कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, सहसचिवद्वय रेनु सिंह ठाकुर र विनोदकुमार थारु, प्रवक्ता डिल्ली गिरी, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसी लगायत उपस्थिति रहेकाे थियाे ।





