
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले अतिक्रमित संरचना हटाउने भएको छ । उपमहानगरपालिकाले नेपालगञ्ज बजारलाई व्यवस्थित बनाउन नेपालगञ्ज क्षेत्रमा अतिक्रमित संरचना हटाउने भएको हो ।
उपमहानगरपालिकाले संरचना हटाउने बिषयमा आइतबार नेपालगञ्ज उद्योग वाणिज्य संघ, जिल्ला ट्राफिक प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय र पत्रकारबीच छलफल समेत गरेको छ ।
‘नेपालगञ्जका बिभिन्न सडकपेटीमा व्यापार वा व्यसाय गरेका र अन्य क्षेत्रमा सार्वजनिक सम्पत्ति कब्जा गरेकाहरुलाई खाली गराउँछौं ।’ नेपालगञ्जका मेयर प्रशान्त बिष्टले भन्नुभयो, ‘यो कार्यले एक त बजार क्षेत्र व्यवस्थित बन्छ, अर्को सार्वजनिक सम्पत्तिको संरक्षण हुन्छ ।’
त्यसका लागि आजै आइतबारदेखि नेपालगञ्ज बजारका बिभिन्न क्षेत्रमा जानकारी गराउने उद्देश्यले अनुगमन शुरु गरिने भएको छ । केही समयको अनुगमनपछि अतिक्रमण गर्नेको सामान जफत गरि कारबाही गरिने उपमेयर कमरुद्दिन राईले बताउनुभयो ।
यस्तै नेपालगञ्जका अति ब्यस्त तथा अस्पताल प्रवेशका लागि केही बाटोहरुलाई चारपांग्रे निशेध र एकतर्फी बनाउने छलफल भएको छ ।
गणेशमान चोकदेखि भेरी अस्पतालसम्म एकतर्फी सवारी जाने मात्र प्रयोगमा ल्याउने र त्रिभुवन चोकदेखि बागेश्वरी मन्दिर हुँदै धम्बोझी चोकसम्म चार पांग्रे निषेध गरिने भएको हो ।





