राहत प्याकेजका लागि पहल गर्ने मन्त्री गहतराजकाे प्रतिवद्धता

कोहलपुर । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले बाँकेको नरैनापुर क्षेत्रको स्थलगत निरिक्षण गर्नुभएकाे छ ।

लामो समयदेखी वर्षा हुन नसक्दा खडेरीको सामना गरीरहेको नरैनापुर क्षेत्र पुगेर मन्त्री अथकले सोमबार स्थलगत निरिक्षण गर्नुभएकाे हाे ।

लामो समयदेखि पानी नपरेपछि रोपेको धान बिऊ सुकेर पराल भईसकेले नरैनापुरमा भोकमरीको त्रास बढेको सामाचार विभिन्न संचारमाध्यममा आएपछि बाँके क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य समेत रहनुभएका मन्त्री गहतराजले त्यसप्रति चासो देखाउनुभयाे ।

निरिक्षणका क्रममा मन्त्री गहतराजले सुख्खा क्षेत्र नरैनापुरका किसानहरुका लागि राहत प्याकेजका सवालमा पहल गर्ने प्रतिबद्धता जनाउनुभएकाे छ ।

नरैनापुरका किसानहरुलाई भोकमरीबाट जोगाउन तिनै तहका सरकारले विशेष ध्यान दिनुपर्ने बताउँदै मन्त्री अथकले समस्या समाधानकालागि केन्द्रिय तहबाटै पहल गर्ने प्रतिवद्धता जनाउनुभएकाे हाे ।

भदौको दोस्रो सातासम्म पनि पानी नपरेछि नरैनापुरका किसानहरुको यो वर्षको खेतीको आश मारिसकेका छन । अन्य क्षेत्रमा खेती लगाईसक्दा समेत आफुहरुले धान रोप्न नपाएको भन्दै नरैनापुरका किसानहरुले दुख ब्यक्त गरेका छन ।

पानी पर्ला र छिटो खेती गरौला भन्ने आसैआसमा बसेका कृषकहरुले तयार पारेको बीउ समेत सुकेर पराल बनेको छ । सिँचाईको सुबिधा नभएकाले आकासे पानीको भरमा बसेका नरैनापुरका किसानहरु पानी बिनाको माछा जस्तै बनेका छन ।

नरैनापुर गाऊँपालिका अध्यक्ष ईस्तियाक अहमद शाहका अनुसार यो वर्ष नरैनापुरमा भोकमरी हुने संकेत देखिएको छ ।

कृषकहरुलाई भोकमरीबाट बचाउन केन्द्र सरकारकाबाट राहत उपलब्ध गराउन साहले मन्त्री अथकलाई आग्रह गरेका छन । खडेरीबाट उत्पन्न हुनसक्ने परिस्थिती भयावह हुनसक्ने भन्दै अध्यक्ष शाहले केन्द्र र प्रदेश सरकारले राहत प्याकेज उपलब्ध गराउनुपर्ने बताउनुभयाे ।

नरैनापुरमा ३ हजार ९ सय ६६ हेक्टर जमिन रहेको छ । जसमध्ये १५ प्रतिशत जमिनमा मात्र रोपाई भएको र समयमै पानि नपर्दा रोपेको धान समेत सुकेको नरैनापुर कृषि शाखा प्रमुख सदन भण्डारीले जानकारी दिनुभयाे ।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालका अनुसार नरैनापुर बाहेक बाँके जिल्लामा ९९ प्रतिशत रोपाई भईसकेको र नरैनापुरमा पानी नपर्दा रोपाई हुन नसकेको हो ।

रोपाईको लागि तयार भएको बीउ सुकेर पराल भएको र पुनः बीउ राख्ने अवस्था नभएको कारण खेतीको आस मरीसकेको नरैनापुर ३ का किसान रामनरेश हरिजनले बताउनुभयो ।

सिक्टा सिंचाई आयोजनाले नहर बनाउन ढिलो गरेकाले वर्षे बालीका लागि आकासे पानीको भर पर्नुपर्नेे भन्दै हरिजन दुख ब्यक्त गर्नुभयाे ।

Previous articleबजार अनुगमन टाेलीद्वारा २५ केजी खान अयोग्य माछा नष्ट
Next article४ मंसिरको चुनावमा उम्मेदवारले सम्पत्ति विवरण पेश गर्नुपर्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here