
कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाका बिभिन्न स्थानमा कब्जा गरिएको सार्वजनिक जग्गा खाली गराउन डोजर चलेपछि बिवाद भयो । नगरपालिले अनाधिकृत रुपमा जग्गा कब्जा गरी निर्माण भएका संरचना हटाउन खोज्दा स्थानीयले प्रतिकार गरेपछि विवाद बढ्दै गयो ।
बिवाद बढेपछि नगरपालिकाले सबैको सहमतिमा मात्रै सो कार्य गर्नुपर्ने भन्दै चर्को आलोचना पनि भयो । त्यसपछि सबै मिलेर अबैध संरचना हटाउन बिषयमा छलफल पनि बस्यो तर पहिलो चरणको बैठकले निष्कर्ष निस्किएन ।
पहिलो चरणको छलफलबाट निष्कर्ष ननिस्किएपछि बुधबार दोस्रो पटक बैठक बसेको छ । नगर विकास समितिको अगुवाईमा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकमा यही असोज मसान्तभित्र नगर बिकास समिति भित्रका संरचना खाली गर्ने सहमति बनेको छ ।
सर्वदलीय तथा सर्वपक्षीय बैठकमा असोज मसान्तभित्र नगर बिकास समितिभित्रका संरचना खाली गर्न बसपार्क सुधार समिति समेत सहमत भएपछि अतिक्रमित संरचना हटाउने बर्षौंदेखिको प्रयास सफल हुने भएको नगर प्रमुख पूर्ण प्रसाद आचार्यले बताउनुभयो ।
साथै टोल सुधार समितिले सिफारिस गरेको आर्थिक स्थिति कमजोर रहेका १३ जना विपन्न परिवारलाई अन्य ठाउँमा नगर विकास समितिले नै व्यवस्थापन गर्ने पनि निर्णय भएको छ ।






