
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई नेपाली कांग्रेसले हुम्लाबाट प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ एकल उम्मेदवारका रुपमा सिफारिस गरेको छ ।
बिहीबार बसेको कांग्रेस हुम्लाको प्रदेश र प्रतिनिधि सभा निर्वाचन क्षेत्रको बैठकले शाहीलाई प्रतिनिधि र प्रदेशसभामा सिफारिस गरेको हो ।
शाहीको निर्वाचन क्षेत्र प्रदेश सभातर्फ (ख) हो । प्रदेश (ख) का सभापति तक्दीर लामाले दुवैतर्फ मुख्यमन्त्री शाहीको एकल नाम सिफारिस गरिएको जानकारी दिनुभयो ।
हुम्लामा बलियो उम्मेदवारका रूपमा रहनुभएका शाही कांग्रेसले कर्णालीमा पुनः मुख्यमन्त्री पाउने सम्भावना रहे प्रदेश र मुख्यमन्त्री नपाउने अवस्थामा संघबाट उम्मेदवार बन्ने छन् ।
०७४ को निर्वाचनमा कांग्रेसबाट कर्णालीमा शाहीमात्रै प्रत्यक्षतर्फ विजयी हुनुभएको थियो । प्रदेश (क) ले प्रदेशसभा प्रत्यक्षतर्फ मानदेव शाही, अर्जुन महतारा र मंगलबहादुर शाहीको नाम सिफारिस भएको छ ।
त्यस्तै समानुपातिकतर्फ राम टमट्टा, सविता ऐडी, मैना बुढा र मिमबहादुर शाहीको नाम सिफारिस गरिएको छ । प्रदेश (ख) ले प्रदेशको समानुपातिकनतर्फ पदमबहादुर लामा, विजया बुढा र रिता लामाको नाम सिफारिस गरेको छ ।





