उद्योग लुट्न पुगेका डाँका र प्रहरीबीच भिडन्त, वरिष्ठ सई घाइते

वीरगञ्ज । बारामा उद्योगमा लुटपाट गर्न आएका डाँका समूह र प्रहरीबीच गोली हानाहान भएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २३ भलुहीस्थित एरोटेक प्रालिमा लुटपाट गर्न आएका डाँका समूहसँग प्रहरीको भिडन्त भएको हो ।

डाँका समूहले एक राउण्ड फायर गर्दा प्रहरीले ३ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरी टोलीले उद्योगबाट दुई जना डाँकालाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

‘मध्यरातमा डाँका समूहले उद्योगमा लुटपाट गर्न खोजेका थिए, समयमै प्रहरी पुगेर रोक्न सफल भएका छौं’ उहाँले भन्नुभयो, ‘दुई जना डाकालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेका छौं ।’

घटनास्थलबाट प्रहरीले घरेलु बन्दुक तथा थान कटुवा पेस्तोल एक/एक थान र तीन राउण्ड गोली बरामद गरेको छ । पक्राउ परेका दुई जना डाँकालाई इलाका प्रहरी कार्यालय सिमरामा राखिएको छ ।

मध्यरातमा १२/१५ जनाको संख्यामा डाँका समूह लुटपाट गर्न उद्योग पसेका थिए । डाँका समूह उद्योगमा प्रवेश गरेको सूचना आएपछि प्रहरी टोली खटिएको थियो ।

इलाका प्रहरी कार्यालय जीतपुरका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) कलमबहादुर शाहीको कमान्डमा टोली खटिएको थियो ।

लुटपाट गर्ने उद्देश्यले हातहतियार सहित उनीहरू उद्योग छिरेका थिए । प्रहरी टोली उद्योग पुगेपछि प्रहरी र डाँकाबीच दोहोरो भिडन्त भएको हो ।

डाँका समूहका एक जनाले फलामको रडले वरिष्ठ सई शाहीको टाउकोमा प्रहार गरेर उनी घाइते भएको प्रहरीले जनाएको छ । शाहीको वीरगञ्ज हेल्थ केयर हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Previous articleमेरो प्रश्न : कानून सबैलाई बराबर होइन र स्थानीय सरकार !
Next articleअफगानिस्तानमाथि श्रीलंकाको रोमाञ्चक जित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here