
एजेन्सी । श्रीलंकाले टि २० एसिया कप २०२२ को सुपर फोरमा विजयी सुरूआत गरेको छ । सुपर फोरको आफ्नो पहिलो खेलमा श्रीलंकाले अफगानिस्तानमाथि ४ विकेटको रोमाञ्चक जित निकालेको हो ।
जितको लागि १ सय ७६ रनको लक्ष्य पछ्याएको श्रीलंकाले ५ बल बाँकी छँदै ६ विकेट गुमाएर पुरा गर्यो । श्रीलंकाको जितमा कुशल मेन्डिसले सर्वाधिक ३६ रन बनाए ।
यस्तै पाथुम निसंकाले ३५ रन बनाउँदा धनुष्का गुणाथिलकाले ३३ रन जोडे । भानुका राजपक्षेले १४ बलमा ४ चौका र १ छक्कासहित ३१ रन बनाउँदा वानिन्दु हसरंगा ९ बलमा ३ चौकासहित १६ रनमा अविजित रहे ।
अफगानिस्तानका मुजिब उर रहमान र नविन उल हकले समान २/२ विकेट लिए । राशिद खान र मोहम्मद नाभीले १/१ विकेट लिए ।
त्यसअघि शारजाह क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्ताानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७५ रन बनाएको थियो ।
उसका लागि विकेटकिपर रहमानउल्लाह गुरबाजले सर्वाधिक ८४ रन बनाए । उनले ४५ बल खेल्दै ४ चौका र ६ छक्का प्रहार गरे । यस्तै ईब्राहिम जद्रानले ४० रन बनाउँदा नजिबउल्लाह जद्रानले १७ तथा ओपनर हज्रतुल्हाह जझाईले १२ रन जोडे ।
श्रीलंकाका दिलशान मदुशनकाले २ तथा स्पिनर महेश थिक्सना, असिथा फ्रेनान्डोले समान १/१ विकेट लिए । यसअघि समूह चरणमा अफगानिस्तानले श्रीलंकालाई फराकिलो अन्तरमा हराएको थियो ।
सुपर फोरमा लिगको खेलपछि शीर्ष स्थानमा रहने दुई टोलीले फाइनल खेल्नेछन् । आइतबार भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।





