
नेपालगञ्ज । नेपाल रेडक्रसको ६० औं स्थापना दिवसको अवसरमा निःशुल्क रगत वितरण कार्यक्रमको बाँकेमा शुभारम्भ भएको छ ।
दिवसका अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले नेरेसो प्रादेशिक रक्तसंचार केन्द्र बाँकेको नयाँ भवन निर्माण र डिपीआरको लागि रु.३ करोड बजेट व्यवस्था गरिएको जानकारी गराउनु भयो ।
सो क्रममा भेरी अस्पतालमा उपचारका लागि भर्ना भई रगतको आवश्यकता परेका विरामीहरुलाई निःशुल्क रगत वितरण कार्यक्रमको शुभारम्भ पनि गर्नु भयो ।
मन्त्री राईले पश्चिम नेपालका २४ जिल्लाका गम्भीर अवस्थाका विरामीलाई रगत उपलब्ध गराउँदै एक मात्र संस्था रक्तसंचार केन्द्रको भवन निर्माणका लागि रेडक्रसका पदाधिकारीहरुले गरेको आग्रह अनुसार मन्त्रालयले सो रकम उपलब्ध गराउने निर्णय गरेको बताउनु भयो ।
लुम्बिनी प्रदेश सरकारसंगको सम्झौता अनुसार रेडक्रसले विरामीलाई निःशुल्क रगत वितरण गर्ने र लुम्बिनी सरकारले भेरी अस्पताल मार्फत रेडक्रसलाई भुक्तानी गर्ने व्यवस्था गरिएको बताइएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका कार्यवाहक मेयर कमरुद्दीन राईले रेडक्रसले शुरु गरेको निःशुल्क रगत वितरणबाट गरिब तथा असहाय विरामीलाई राहत मिल्ने बताउनु भयो ।
नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले रक्तसंचार केन्द्रको भवन जिर्ण अवस्था रहेकोले चासो लिई आधुनिक भवन निर्माणका लागि अग्रसरता देखाउनु भएकोमा मन्त्रीलाई संस्थागत रुपमा धन्यवाद व्यक्त गर्नुभयो ।
प्रादेशिक रक्तसंचार केन्द्रमा आयोजित कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, भेरी अस्पतालका अध्यक्ष प्रमोद धिताल लगायतले रेडक्रसको प्रशंसा गर्नु भएको थियो ।
नेरेसो बाँके शाखाकी उपसभापति शान्ति श्रेष्ठले स्वागत मन्तव्य र नेरेसो बाँके शाखाका मन्त्री अजीज अहमद सिद्धिकी र भेरी अस्पतालका मेसु बद्री चपागाईले सम्झौता पत्रमा हस्ताक्षर गरी सम्झौता पत्र आदान प्रदान गर्नु भएको थियो
कार्यक्रमलाई नेरेसो बाँकेका कार्यालय प्रमुख दोलखबहादुर डाँगीले संचालन गर्नु भएको थियो । कार्यक्रममा नेरेसो बाँके शाखा र उपशाखाका पदाधिकारी, सदस्य, भेरी अस्पातल विकास समिति र पत्रकार लगायतको उपस्थिति रहेको थियो ।






Thank you so much fren for covering the great news 🙏🌿🙏