डकैतीको आरोपमा २ जना पक्राउ, बन्दुक र गोली बरामद

वीरगञ्ज । प्रहरीले बाराको भलुहीस्थित एरोटेक प्रा.लिमा शनिबार मध्यरातमा डकैती गर्न गएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जीतपुर सिमरा उपमहानगरपालिका वडा नं-९ बस्ने ३५ वर्षीय जयराम पासवान र वडा नं-१० बस्ने ४० वर्षको जवाहिर महतो रहेका प्रहरीले जनाएको छ ।

राति नै पक्राउ परेका उनीहरुलाई प्रहरीले आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । प्रहरीले घटनास्थलबाट २ थान गोलीसहित कटुवा बन्दुक र भरूवा बन्दुक समेत बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी निरीक्षक रामकाजी थापाका अनुसार जीतपुर सिमरा-२३ भलुहीमा रहेको एरोटेक प्रा.लि.मा शनिबार राति १०/१२ जनाको समूहले हात-हतियारसहित प्रवेश गरी धनमाल लुटि रहेको खबर प्रहरीलाई आएको थियो ।

बारा प्रहरीका अनुसार, इलाका प्रहरी कार्यालय जीतपुरबाट वरिष्ठ प्रहरी नायब निरीक्षक कलमबहादुर शाही नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो ।

हतियारधारी समूहले उद्योगको स्टोर कोठामा राखेको सिलिण्डर बनाउन प्रयोग हुने पित्तलको भल्भ, जींक बायर, बुस बनाउने डण्डी तथा मजदुरहरुको साथमा रहेको नगद तथा मोवाइल समेत डाँका गरेर भाग्दै थिए ।

पक्राउ गर्ने क्रममा उनीहरुले प्रहरी टोलीलाई लक्षित गरेर एक राउण्ड फायर गरेका थिए । प्रहरीले ३ राउण्ड गोली प्रहार गरी त्यो समूहका दुई जनालाई नियन्त्रणमा लिएको थियो ।

पक्राउ गर्ने क्रममा उनीहरुको आक्रमणबाट वरिष्ठ प्रहरी नायब निरीक्षक शाहीको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । उहाँको वीरगञ्ज हेल्थ केयर हस्पीटलमा उपचार भइरहेको छ । फरार अन्यको खोजी भइरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखी डाँका, हातहतियार खरखजाना तथा ज्यान मार्ने उद्योग मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Previous articleबिरामीले अब निःशुल्क रगत पाउने
Next articleसकियो खानेपानी सरसफाई र महिनावारी स्वच्छता सम्बन्धि तालिम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here