
नेपालगञ्ज । “तीनै तहको सरकार : मानव बेचबिखन बिरुद्धको सरोकार” भन्ने मुल नाराका साथ १६ औं राष्ट्रिय मानव बेचबिखन बिरुद्धको दिवस बिभिन्न कार्यक्रम गरि बाँकेमा मनाइएको छ ।
दिवसका अवसरमा बाँकेका बिभिन्न स्थानहरुमा सचेतनामूलक कार्यक्रमहरु गरिएका छन् । नेपालगञ्जमा नगरस्तरीय मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण समितिले नेपाल-भारत सीमा जमुनाहा नाकामा सचेतनामूलक सभा गरेको छ ।
सचेतनामुलक कार्यक्रमलाई नेपालगञ्जका मेयर प्रशान्त बिष्टले स्टिकर टाँसेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । सो सभामा बोल्दै मेयर बिष्टले मानब बेचबिखन कार्य गर्नेलाई नेपालको कानून अनुसार कारबाही हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले उपमहानगरपालिकामा यो दिवस आज एकदिन मात्रै नभएर अबदेखि सचेतनामूलक कार्य शुरु भएको भन्दै सबैलाई मानव बेचबिखन बिरुद्ध लाग्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख मञ्जु पाण्डे, उपमहानगरपालिका मानव बेचबिखन बिरुद्धको फोकल पर्सन आशा शाही, माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइराला, जमुनाहा प्रहरी प्रमुख माधव रिजाल, सामुदायिक प्रहरी सेवा केन्द्रकी प्रमुख श्याम कुमारी पाईजा मगर, साथी संस्थाकी सरस्वती शर्मा लगायत, साना हात नेपालकी संयोजक अम्बिका काफ्ले, अभियान नेपालकी कमला पन्त, शक्ति समूहकी कार्यक्रम अधिकृत निर्मला पौडेल, शान्ति पुर्नस्थापना गृहका कार्यक्रम संयोजक निर्मल सुेबदी, रेष्ट नेपालका गणेश भट्टराई, आइ एन एफ लगायतका संघ संस्थाका पदाधिकारी तथा अभियान्ताहरुको उपस्थिति रहेको थियो ।
सो क्रममा शन्देशमूलक चित्रसहितको पर्चा पम्प्लेट बितरण गर्नुभएका साथै स्टिकर टाँस गरिएको थियो भने भारत जाने व्यक्तिहरुलाई मानव बेचबिखन बारे जानकारी प्रदान गरिएको थियो ।
सो क्रममा माइती नेपाल लगायत संस्थाले जमुनाहा नाकामा व्यानर प्रर्दशन गरेका थिए । यस्तै नेपालगञ्ज, कोहलपुर, बैजनाथ, खजुरा लगायतका पालिकाहरुका चोकहरुमा सचेतनामूलक व्यानर प्रदर्शन गरिएको छ ।





