
काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले खेल क्षेत्रमा राजनीति नगर्न आग्रह गर्नुभएको छ । नेपाल भलिबल संघको नवौं चुनावी साधारण सभाको उद्घाटन गर्दै मन्त्री अथकले सहमतिबाट संघको नयाँ नेतृत्व चयन गर्न समेत आग्रह गर्नुभएको छ ।
काठमाडौंको बबरमहलस्थित कार्की ब्याङक्वेटमा आज (बुधबार) देखि शुरु भएको भलिबल संघको साधारणसभाको उद्घाटन गर्दै मन्त्री अथकले खेल क्षेत्रको संस्थागत विकासका लागि स्थापना भएका खेल संघहरु खेलकुदमै केन्द्रित हुनुपर्ने धारणा राख्नुभएको हो ।
खेल क्षेत्रको संस्थागत बिकासको अभिभारा बोकेका खेल संघमा देखिएको राजनैतिक विचलनतर्फ ईगित गर्दै मन्त्री अथकले भन्नुभयो, “तपाईहरु खेलकुदमा केन्द्रित हुनुहोस, राजनीति गर्ने त विभिन्न पार्टी छदैंछन नि !” नेपालमा खेलकुदलाई सामान्य क्रियाकलापका रुपमा मात्र हेर्ने प्रवृत्तिले खेलकुद क्षेत्रको विकासमा चुनौती थपिएको बताउँदै मन्त्री अथकले राज्यले खेलकुदलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।
पछिल्लो समय खेलमैत्री वातावरण सृजना गर्न सरकार लागिपरेको बताउँदै मन्त्री अथकले सिंहदरबारलाई खेलकुद बुझाउन आवश्यक रहेको जिकिर गर्नुभयो । नेपालमा भलिबल खेलको राम्रो सम्भावना देखिएकाले नै राज्यले भलिबललाई राष्ट्रिय खेलका रुपमा सुचिकृत गरेको उल्लेख गर्दै मन्त्री अथकले भलिबल खेलको समग्र विकासमा सरकार लागिपरेको बताउनुभयो । खेललाई उद्योगका रुपमा समेत विकास गर्नुपर्ने उहाँको भनाई थियो ।
खेलाडीहरुको मनोबल बढाउन खेलकुद मन्त्रालयले ऐनमै पुरस्कार तथा सम्मानको ब्यवस्था गरेको र मन्त्रीपरिषदबाट समेत अनुमोदन भईसकेको जानकारी गराउँदै मन्त्री अथकले अब कुनै पनि खेलाडीको मिहेनत खेर जान नदिने प्रतिवद्धता समेत जनाउनुभयो ।
राज्यको प्रतिनिधत्व गर्दैै बिभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको सहजताका लागि विशेष पासपोर्टको ब्यवस्था गर्नेबारे समेत छलफल भईरहेको उहाँको भनाई थियो । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला, सदस्य सचिव टंकलाल घिसिङ लगायतले अधिवेशन सफलताको शुभकामना दिनुभएको थियो ।





