
नेपालगन्ज । नेपालगन्जमा छाडा पशु चौपायाको समस्या समाधानका लागि पहल अघि बढाइएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाले बिहिवार सर्वपक्षीय बैठक आयोजना गरि छाडा पशु चौपायाको दिर्घकालिन र अल्पकालिन समाधानका लागि योजना बनाएको छ ।
बैठकको निर्णय अनुसार यहि भदौं महिनाभित्र पशु चौपाया (गाई, गोरु, गधा, खच्चड, घोडा, बंगुर) सडकमा छाडा नछोडन आग्रहसहित माईकिङ सहितको प्रचारात्मक कार्यक्रम चलाइने भएको छ ।
भदौं मसान्तपछि पशु चौपाया छाडा छोडनेलाई कारवाही गर्ने र यसरी छोडिएका पशु चौपायालाई राख्नका लागि अस्थायी संरचना बनाएर ब्यवस्थापन गरिने नगर प्रमुख प्रशान्त विष्टले बताउनुभयो ।
छाडा पशुु चौपायाका कारण नगरको ट्राफिक ब्यवस्थापनमा असहजता भएको र दुर्घटना पनि बढेको भन्दै नगर प्रमुख विष्टले सडकमा छाडा छोडिएका पशु चौपायालाई अन्यत्र राखेर अल्पकालिन ब्यवस्थापनमा तत्काल जुटेको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले सीमा पारीबाट छाडा पशु चौपाया आउन नदिनका लागि सीमा कडाई गर्न सुरक्षा निकायलाई निर्देशन दिने बताउनुभयो ।
ट्राफिक ब्यवस्थापन र नगरको सौन्दर्यताका लागि छाडा पशु चौपायको ब्यवस्थापन आवश्यक भएको उहाँको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख श्यामकृष्ण अधिकारीले छाडा पशु चौपायाको ब्यवस्थापनका लागि अन्तर पालिका समन्वय गरी सबैको सहकार्य र समन्वय आवश्यक भएको बताउनुभयो ।
नगर उप प्रमुख कमरुद्धिन राईले छाडा पशु चौपायाको ब्यवस्थापनका लागि उपमहानगरपालिका अब कडाईका साथ प्रस्तुत हुने बताउनुभयो ।
नेपालन्जमा छाडा छोडिएका मध्ये गाईगोरुलाई नियन्त्रणमा लिएर कांजी हाउसमा राखेपनि लिन कोही नआउने कांजी हाउसका कर्मचारीको भनाई छ ।
गधा, खच्चड र घोडा भने जरिबाना तिरेर पनि घरधनीले ल्याउने गरेका छन । छाडा पशु चौपायाहरु कांजी हाउससहित अन्य अस्थायी संरचना तत्काल बनाएर राखिने भएको छ ।





