
नेपालगञ्ज । पछिल्लो समय डेंगीका बिरामीहरुको संख्या बढ्न थालेपछि नियन्त्रण र सावधानी अपनाउनुपर्ने बिषयमा बहस हुन थालेको छ । डेंगी संक्रमणका बिरामीहरु बढे्पछि यसबाट बच्नका लागि के कस्तो उपाय अवलम्बन गर्न सकिने बिषयमा बहस हुन थालेको देखिन्छ ।
यसै शन्दर्भमा शुक्रबार नेपालगञ्ज उपमहानगरपालिकामा यहाँका सरोकारवाबीच समन्वयात्मक छलफल गरिएको छ । छलफलमा बोल्ने वक्ताहरुले डेंगी नियन्त्रणका लागि सबैले आआफ्नो स्थानबाट सक्रिय हुनुपर्नेमा जोड दिएका छन् ।
डेंगी नियन्त्रणका लागि सरकारले मात्रै चाल्ने कदम पुर्ण नहुँदै भन्दै सर्वसाधारण पनि यसबिरुद्ध लाग्नुपर्नेमा जोड दिइएको हो । साथै डेंगी रोगको इतिहास, यसको शुरुवात र यसको प्रभावका बारेमा भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डे तथा रोगको अवस्था, लक्षण र जोगिने उपायका बारेमा स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्सन दुर्गा गौतमले जानकारी गराउनुभएको थियो ।
बैठकमा बोल्दै नेपालगञ्जका उपमेयर कमरुद्दिन राईले सचेतनामूलक अभियान संचालन गर्नुपर्ने बताउनुभयो । उहाँले यसका लागि नगरपालिकाले गर्न सक्ने आवश्यक सहयोग नेतृत्व र नगरका स्वास्थ्यकर्मीको सक्रियता रहने बताउनुभयो ।
बैठकमा भेरी अस्पतालका मेसु डा.बद्री चापागाईंले पछिल्लो समय भेरीमा सरुवा रोगका बिरामीहरुको संख्या बढेको भन्दै आवश्यक व्यवस्थापन गरिरहेको जानकारी गराउनुभयो । बाँकेमा हाससम्म ११ जनामा डेंगीको संक्रमण देखिएको र ती मध्ये ५ जना नेपालगञ्ज उपमहानगरपालिकाका, ४ जना कोहलपुरका र १ जना बैजनाथ गाउँपालिकाका रहेका छन् ।





