विश्व प्राथमिक उपचार दिवस : घटना अभ्यास र किट वितरण

नेपालगञ्ज । “जीवनभर प्राथमिक उपचारका सीप सिकौ” भन्ने मुलनाराका साथ शनिवार विश्व प्राथमिक उपचार दिवस मनाइएको छ ।

नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा कृत्रिम घटना अभ्यास र प्राथमिक उपचार किट वितरण गरि दिवस मनाइएको हो ।

हरेक वर्ष रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अगुवाईमा विश्वव्यापीरुपमा मनाइने विश्व प्राथमिक उपचार दिवसले विभिन्न उमेर समूह र विषयहरूलाई समेटेर प्राथमिक उपचारको मूल सन्देश प्रवाह गरी सोसाइटीमार्फत प्राथमिक उपचारका विविध गतिविधिहरू सञ्चालन गरी आम समुदायमा जीवन बचाउने कार्यको लागि सहयोग पु¥याउने मुख्य उद्देश्य रहेको छ ।

दिवसका अवसरमा नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले रेडक्रसको स्थापना प्राथमिक उपचार सेवाबाट नै भएकोले हरेक घर र समुदायमा प्राथमिक उपचार स्वयंसेवक हुनु अत्यन्त जरुरी रहेको बताउँदै नेपालगञ्ज उपमहानगरपालिकाको ३ र ७ नम्बर वडाका समुदायलाई यो तालिम प्रदान गरिएको उल्लेख गर्नुभयो ।दिवसको क्रममा प्राथमिक उपचार प्रशिक्षक र सहभागीहरुले कृत्रिम घटना अभ्यास गर्दै सडक दुर्घटनाबाट घाइते भएका ४ जना व्यक्तिहरुलाई प्राथमिक उपचार गरी अस्पतालसम्म पुर्याई दिवस मनाएका छन् ।

युरोपियन युनियनको आर्थिक सहयोग तथा युनिसेफ, युएनडिपी र युएनओमनको साझेदारीमा नेरेसो बाँके शाखाद्वारा नेपालगंज उपमहानगरपालिकासंगको समन्वयमा संचालित शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना अन्तर्गत नेपालगंज उपमहानगरपालिका वडा नं. ३ र ७ का २४ जना व्यक्तिहरुको सहभागितामा आधारभूत प्राथमिक उपचार तालिम संचालन भइरहेको छ ।

तालिमका सहभागीहरुलाई व्यक्तिगत प्राथमिक उपचार किट वितरण र वडा कार्यालयलाई ठूलो प्राथमिक उपचार किट बाकस हस्तान्तरण गरिएको छ ।

नेरेसो बाँके शाखाका सभापति सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेरेसोका पूर्व केन्द्रिय उपाध्यक्ष अजीतकुमार शर्मा, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, उपमन्त्री तेजबहादुर सुवेदी, नेपालगंज वडा नं.३ का वडा अध्यक्ष आयुव सिद्धिकी, नेपालगंज उपमहानगरपालिकाका फोकल पर्सन प्रकाश डि.सी., नेरेसो सदरलाइन उपशाखाका सभापति ओमप्रकाश आजाद, बाँके शाखाका उपनिर्देशक दोलखबहादुर डाँगी लगायत व्यक्तिहरुकोे सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्देश्यमाथि नेरेसो बाँके शाखाकी बरिष्ठ संगठन विकास अधिकृत निरञ्जना मल्लले प्रकाश पार्नुभएको थियो । कार्यक्रमलाई कार्यक्रम अधिकृत प्रहलाद विश्वकर्माले संचालन गर्नु भएको थियो । कृत्रिम घटना अभ्यासका क्रममा सीपको प्रदर्शन प्राथमिक उपचार प्रशिक्षक सरिता सिंह, सीता वली र शुशील चौधरीले गर्नुभएको थियो ।

Previous articleखैरो हिरोईनसहित २३ वर्षीय बाेहरा पक्राउ
Next articleबाँकेका ४७ जना पत्रकारको निःशुल्क मृगौला परिक्षण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here