
नेपालगञ्ज । नेपालगञ्जमा डेंगुका बिरामी फेला परेपछि वडा नं ४ को कार्यालयले लार्भा नष्ट अभियान शुरु गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ नियमित सरसफाइ अभियान अन्तर्गत आज (शनिबार) नेपालगञ्ज बसपार्क क्षेत्रबाट डेंगी प्रकोप नियन्त्रणका लागि लार्भा नष्ट अभियान संचालन गरेको हो ।
डेंगी लामखुट्टेको बासस्थानको सम्भावना भएको क्षेत्रहरुमा सरसफाई गर्न शुरु गरिएको वडा अध्यक्ष गोपाल पुनले जानकारी दिनुभयो । लामखुट्टेको टोकाईबाट हुने डेंगु रोग नियन्त्रणका लागि र वडा नं ४ मा बसपार्क हटस्पट क्षेत्र रहेकाले यो अभियान संचालन गरिएको स्पष्ट पार्नुभयो ।
उहाँका अनुसार पछिल्लो समय देशभरी नै डेंगीको संक्रमण बढेकाले यस वडामा संचालन हुने हरेक अभियान डेंगी नियन्त्रण अभियानका साथ प्रस्तुत हुनेछ । यस्तै वडालाई नै सरसफाईयुक्त बनाउनका लागि प्रत्येक टोलटोलमा सरसफाई समिति समेत गठन गरिएको छ ।
वडालाई सफा र संक्रमणरहित बनाउने अभियानमा सर्वसाधारणको समेत सहभागिता बढाउँदै जाने वडा अध्यक्ष पुनले बताउनुभयो । सरसफाई अभियानमा जनप्रतिनिधिसहित सर्वसाधरणको सहभागिता रहेको थियो ।





