
नेपालगञ्ज । बाँकेका दुरदराजमा स्वास्थ्य उपचार पुरयाउन लागि परेको छ, बाँके आयुर्वेद । ग्रामीण क्षेत्रका व्यक्तिलाई स्वास्थ्यतर्फ गम्भीर बन्न र निरोगी बन्न प्रेरित गर्न बाँके आयुर्वेदले शिबिर अभियान संचालन गरेको छ ।
यस्तो अभियानले ग्रामीण क्षेत्रका मानिस समयमै आफ्नो स्वास्थ्यतर्फ सतर्क हुने बाँके आयुर्वेदकी डा.गीता रेग्मीले बताउनुभयो ।
उहाँका अनुसार पछिल्लो समय नसर्ने रोगको प्रकोप बढेको छ । अव्यस्थित जीवनशैली र अस्वस्थ खानपानको कारण नसर्ने रोगको संक्रमण दर बढेको हो । नसर्ने रोगको दरमा कमि ल्याउन यस्तो अभियान शुरु गरिएको डा.रेग्मीले बताउनुभयो ।
‘शिबिरमार्फत हामीले व्यक्तिको उमेर अनुसारको तौल भएनभएको, उमेर अनुसार हुनुपर्ने तौल जानकारी लिने गर्छौ,’ डा.रेग्मीले भन्नुभयो, ‘सुगरको अवस्था र मात्राबारे जानकारी लिएपछि व्यक्तिलाई हुन सक्ने सम्भावित रोग नियन्त्रणका लागि आवश्यक प्ररामर्श दिने गर्छौ ।’
शिबिरमार्फत रोग नियन्त्रणका लागि अपनाउनुपर्ने खानपान र योगअभ्यासबारे जानकारी दिने गरिएको छ । यसपछि पन्ध्र दिनसम्म आयुर्वेदकै नेतृत्वमा योगाभ्यास संचालन गरिन्छ ।
पन्ध्र दिनपछि पुन शिबिर संचालन गरिन्छ र अघिल्लो पटक शिबिरमार्फतर मापन गरिएको शुगरको मात्रा, तौल लगायतका कुरा हाल के छ र त्यसपछि पुनः गनुपर्ने कार्य शुझाउने गरिएको छ ।
बर्तमान व्यस्त जीवन र अनियमित खानपानले गर्दा अनेकौं रोगहरु दिनप्रतिदिन मानव शरीरमा जन्मिरहेका छन् । जसको मानिसलाई धेरै समयपछि जानकारी हुन्छ, जब रोग जटिल अवस्थामा पुगिसक्छ, त्यसपछि मानिसलाई उपचार गर्न गाह्रो भइसकेको हुन्छ ।
“दिगो स्वास्थ्यको आधार : आयुर्वेद उपचार” भन्ने शन्देशसहित बाँके आयुर्वेद गाउँ घरमा पुगिरहेको छ । जिल्लाका बिभिन्न पालिकामा रहेको आयुर्वेद शाखाको समन्वय सहकायमा शिबिर संचालन गरिएको छ ।
यस क्रममा सोमबार बाँकेको बैजनाथ गाउँपालिका वडा नं-३ भैरहवास्थित वडा कार्यालयमा आयुर्वेद स्वास्थ्य शिबिर संचालन गरिएको थियो । शिबिरमा स्थानीयको उल्लेख्य सहभागिता देखिन्थ्यो ।
आयुर्वेद उपचारमार्फत पनि बिभिन्न रोगहरु नियन्त्रण गर्न सकिने र गाउँ घरमा त्यसको महत्व बुझाउन ग्रामीणस्तरमा शिबिर संचालन गर्ने गरिएको बाँके आयुर्वेद अस्पताल बिकास समितका सदस्य अछरी पोखरेलले बताउनभुयो ।
सदस्य पोखरेलका अनुसार जिल्लाका बिभिन्न क्षेत्रमा नियमित रुपमा शिबिर संचालन भइरहेको छ । भैरहवामा संचालित शिबिरमा डा.अनिल कुमार चौधरश्री, डा.रेग्मी, स्वास्थ्यकर्मी सिताराम चौधरी, ल्याब टेक्निसियन जमुना गिरीको टोलीले स्वास्थ्य सेवा प्रदान गरेको थियो ।
उद्घाटनमा अस्पताल बिकास समितिका अध्यक्ष जनकराम भण्डारीको समेत उपस्थिति रहेको थियो । शिबिरमार्फत ग्याष्ट्रिक, उच्च रक्तचाप, मधुमेह, मोटोपन, अर्श, अर्बुद, मृगौला तथा स्वास प्रश्वास सम्बन्धि स्वास्थ्य सेवा दिने गरिएको छ ।





