
काठमाण्डौं । सरकारले विश्व बैंकबाट यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने २७५ मिलियन अमेरिकी डलर (करिब रु. ३५ अर्ब) सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णयसहित १५ निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो ।
पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयलाई सरकारी जग्गा लिजमा उपलब्ध गराउन स्वीकृति दिने निर्णय गरेको उहाँले बताउनुभयो ।
बैठकले अर्थमन्त्री जनार्दन शर्माको अमेरिका भ्रमण स्वीकृत गरेको छ । वासिङ्टन डिसीमा हुने विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा भाग लिन मन्त्री शर्मा नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय बैठकले गरेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।
यस्ता छन् निर्णय:
१. प्रहरी वरिष्ठ उपरीक्षक निरञ्जन विष्टलाई राष्ट्रिय सतर्कता केन्द्रको प्रहरी कर्मचारीतर्फ प्रहरी नायब महानिरीक्षक पदमा बढुवा नियुक्ति गर्ने ।
२.नेपाल र रोमानियाबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने समझदारीपत्रमा हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने ।
३.सामाजिक सुरक्षा (दोस्रो संशोधन) नियमावली, २०७९ स्वीकृत गर्ने ।
४.महालेखापरीक्षक टंकमणि शर्मा (दंगाल) नेतृत्वको टोलीलाई अन्तर्राष्ट्रिय सर्वोच्च लेखापरीक्षण संस्थाहरूको संगठनको २४ औं महाधिवेशनमा सहभागिता जनाउन स्वीकृति दिने ।
५.बेरूजु फर्छ्यौट अनुगमन समितिको सचिवालयमा आर्थिक वर्ष २०७९/८० का लागि राजपत्राङ्कित स्तरको दरबन्दी स्वीकृत गर्ने ।
६.विश्व बैंकबाट यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने २७५ मिलियन अमेरिकी डलर (करिब रु. ३५ अर्ब) सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने ।
७.महिला संरक्षण तथा उत्थान प्रणाली सुदृढीकरण परियोजनाका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने १२ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्न वार्ता टोली गठन गर्ने ।
८.संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीमा आयोजना हुने विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने ।
९.२०७९ असोज ८ र ९ गते स्वीडेनको स्टकहोममा आयोजना हुने 14th NRNA European Regional Meeting (ERM ) मा सहभागी हुन कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको भ्रमण स्वीकृत गर्ने ।
१०.जनवादी गणतन्त्र चीनका राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष महामहिम श्री लि चान्सुको नेपाल भ्रमणको अवसरमा वार्ता गर्न प्रतिनिधिमण्डल गठन गर्ने ।
११.पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालयलाई सरकारी जग्गा लिजमा उपलब्ध गराउन स्वीकृति दिने ।
१२. Kibbutz High Level study visit in Israel कार्यक्रममा सहभागी हुन माननीय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीलाई स्वीकृति दिने ।
१३. मधेस प्रदेशमा चिडियाखाना स्थापना गर्न स्वीकृति दिने ।
१४. संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत आ.व. २०७९/८० को लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने ।
१५. जिल्ला समन्वय समिति, प्युठानको जग्गा गौमुखी गाउँपालिका, प्युठानको नाममा हक हस्तान्तरणको लागि स्वीकृति दिने ।





