
नेपालगन्ज । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले नेपालगन्ज-गुलरिया सडकखण्ड स्तरोन्नतिका लागि स्रोत सुनिश्चित भइसकेको र दुई महिनाभित्रै काम सुरू हुने बताउनुभएको छ ।
आज नन्दनी मिल नजिकै नेपालगन्ज-गुलरिया सडक स्तरोन्नतिको शिलान्यास गर्दै मन्त्री राईले यो आयोजनामा बस्ती भएका ठाउँमा झिलिमिली पार्ने योजना पनि रहेको बताउनुभयो ।
यो सडकखण्डको भूगोलमा जोडिएका बाँके(बर्दियाका जनप्रतिनिधिहरूको दबाब र घच्घच्याइले यो आयोजना ल्याउन सफलता मिलेको मन्त्री राईको भनाई थियो । वहाँले यो कामको श्रेय पनि आफूले उनै जनप्रतिनिधिहरूलाई दिन चाहेको पनि बताउनुभयो ।
‘यसको श्रेय मलाई दिनु पर्दैन । संजय गौतम जी, डम्बर जी, प्रशान्त जी, बढैयातालका प्रमुख सबैले चासो राखेर नै यो काम हुन सकेको हो’, मन्त्री राईले भन्नुभयो, आयोजनालाई द्रुत गति दिन दिनरात नभनि मिहेनत गर्ने भौतिक मन्त्रालयका सचिव, महानिर्देशक, हुलाकी सडक आयोजना प्रमुख, सडक डिभिजनका प्रमुख ज्यूहरूलाई पनि धन्यवाद् छ ।’
भौतिक मन्त्रालय सम्हालेको २ महिनामै आफूले गरेको कामदेखि विकासविरोधीहरू अत्तालिएको मन्त्री राईको भनाइ थियो । शिलान्यास मात्र हुन्छ काम हुँदैन भनेर टिप्पणी गर्नेहरूलाई जवाफ दिँदै मन्त्री राईले बाँकेमा अर्को एक आयोजना ल्याउन लागेको उद्घोष पनि गर्नुभयो ।
मन्त्री राई खासगरी पूर्वमेयर धवल शमशेर राणा र उहाँका समर्थकहरूप्रति आक्रामक देखिएका थिए । आफूले गरेको कामलाई उनीहरूले गलतरूपमा अर्थ्याएर भ्रम सृजना गर्न खोजेको मन्त्री राईको भनाइ थियो ।
यसैबीच मन्त्री राईले आजै नेपालगन्ज(राँझा सडकखण्डमा बन्ने ट्राफिक सिग्नल लाइट जडान कार्यको शिलान्यास पनि गर्नुभएको छ । यी ट्राफिक सिग्नल लाइटहरू गणेशमान चोक, वीपी चोक, धम्बोझी चोक, पुष्पलाल चोक र राँझा चोकमा जडान गरिँदैछ ।





