
नरैनापुर । बाँकेको नरैनापुर गाँउपालिकाले उत्कृष्ट विद्यार्थी तथा विद्यालयलाई बुधबार सम्मान गरेको छ ।
गाँउपालिकाले ५८औं राष्ट्रिय बाल दिवसको अवसर पारेर आज महेन्द्र माध्यमिक मटेहिया विद्यालयमा आयोजित कार्यक्रममा गाँउपालिकाभित्र १० कक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान गरेको हो ।
सो गाँउपालिकाले २६ विद्यार्थीलाई सम्मान गरेको हो । सम्मानित हुने विद्यार्थीहरुमध्ये दिक्षिणा यादव र पवन सिंह यादवले एसईईमा सर्र्बोत्कृष्ट अंक ल्याएर पास भएको भन्दै दुबै जनालाई ल्यापटप प्रदान गरिएको छ भने अन्य उत्कृष्ट विद्यार्थीहरुलाई नेपालको संविधान, कापी झोला, प्रमाणपत्र र खादा लगाएर सम्मान गरिएको छ ।
कार्यक्रममा गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले विकास भनेको रोड निर्माण गर्नुमात्र नभएको बताउँदै उहाँले शिक्षा र स्वास्थ्यमा सुधार गर्न सके सबै क्षेत्र क्रमिक रुपमा विकास हुदै जाने बताउनुभयो ।
अध्यक्ष शाहले कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयो, सर्बोत्कृष्ट २ जनालाई आज जसरी ल्यापटप प्रदान गरिएको छ, तपाईहरु पनि मेहनत गर्नुस, सर्बोत्कृष्ट हुनेलाई ल्यापटप प्रदान गर्नेछौं । गाँउपालिकाले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर कार्यक्रम अगाडि बढाएको अध्यक्ष शाहले बताउनुभयो ।
शिक्षा अधिकृत कृष्ण प्रसाद थारुले नरैनापुरभित्रको शिक्षाको गुणस्तरलाई अगाडी बढाउन विद्यार्थी, शिक्षक र विद्यालयलाई हौसलास्वरुप उक्त पुरस्कार तथा सम्मान प्रदान गरिएको जानकारी दिनुभयो ।
गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले उक्त सम्मानले भावी दिनमा शिक्षण सिकाई क्रियाकलापलाई बृद्धि गर्न उर्जा प्रदान गर्ने बताउनुभयो । वडा नं ५ का अध्यक्ष कृष्ण चन्द्र मौर्यले शिक्षा क्षेत्रमा राजनीति नगर्न सबैलाई आग्रह गर्दै शिक्षा क्षेत्रको सुधारका लागि जनप्रतिनिधिहरु प्रतिबद्ध रहेको बताउनुभयो ।
उहाँले नरैनापुर ५ लाई अबको ५ वर्षमा शिक्षाको हब बनाउने बताउनुभयो । कार्यक्रममा वडा नं. १ का अध्यक्ष इशाक जोलाह, वडा नं. २ का अध्यक्ष मसुद अहमद शाह, वडा नं. ५ का अध्यक्ष कृष्ण मौर्य, वडा नं.४ का अध्यक्ष मनोज मिश्रा, जिन्सी शाखा प्रमुख भरत महतो, विपत शाखा प्रमुख लक्ष्मीकान्त मिश्रा, रोजगार शाखा प्रमुख मकबुल मुकेरी, कमल केसी लगायतले सम्मान प्राप्त विद्यार्थीलाई पुरस्कार तथा सम्मान प्रदान गर्नुभएको थियो ।
यस्तै वडा नं. ६ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय जमुनीले आजै ‘बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार’ विषयमा वक्तृत्वकला कार्यक्रमसमेत गरिएको छ । प्रतियोगितामा उत्कृष्ट भएकाहरुलाई गाँउपालिका अध्यक्ष शाहले पुरस्कार वितरण गर्नुभयो ।





