
वीरगञ्ज । पेट्रोलियम ढुवानी व्यवसायी महासंघले आन्दोलन स्थगित गरेको छ । देशभरका डिपोबाट पीडीओ (प्रोडक्ट डेलिभरी अर्डर) नलिएर आन्दोलनमा रहेको महासंघले नेपाल आयल निगमसँग तीन बुँदे सहमतिपछि आन्दोलन स्थगित गरेको हो ।
बुधबार भएको सहमति र आउँदै गरेको ठूला चाडपर्वका कारण आम जनताको आवागमनलाई ध्यानमा राखेर आन्दोलन स्थगित गरिएको महासंघका अध्यक्ष खगेश्वर बोहराले जानकारी दिनुभयो ।
नेपाल आयल निगमका आपूर्ति तथा वितरण विभागका निर्देशक वीरेन्द्र गोइत र महासंघका अध्यक्ष बोहराले संयुक्त विज्ञप्ति जारी गर्दै सहमतिबारे जानकारी गराउनुभयो ।
व्यवसायीको माग अनुरुपको भाडा वृद्धिसम्बन्धी सञ्चालक समितिमा पेश भएको प्रतिवेदन आगामी असोज ७ गतेसम्म निर्णय गरी लागु गर्ने सहमति भएको छ ।
त्यस्तै ढुवानी व्यवसायीको मागका सम्बन्धमा महासंघका प्रतिनिधिसहित सम्बन्धित संघ संस्था तथा संगठनका प्रतिनिधिहरुको उपस्थितिमा छलफल गरेर उचित सम्बोधन गर्ने र महासंघले ढुवानी सेवा नियमित गर्ने सहमति भएको हो ।





