बाढी प्रभावितको बिचल्ली : बाला लाग्न थालेको धानबालीमा समेत क्षति

photo : rss

नेपालगञ्ज । पश्चिम तराई क्षेत्रमा बाढी प्रभावित बिचल्लीमा परेका छन् । कैलाली, बाँके, बर्दिया, कञ्चनपुर लगायतका जिल्लामा हिजो आएको बाढीले प्रभावित भएका नागरिक घर फर्कन सकेका छैनन् ।

गएको वर्ष पनि यी क्षेत्रमा पाकेको धान असोज अन्तिम तथा कात्तिक पहिलो हप्ताको बेमौसमी वर्षाले क्षति गरेको थियो । यसवर्ष पनि फुल्न लागेको धानबालीमा बाढीले नोक्सान गरेको छ ।

बाढी प्रभावितले घरमा रहेको अन्नपातसमेत जोगाउन नसकेको कैलालीको भजनीका स्थानीय बासिन्दा जयप्रसाद ढुङ्गानाले गुनासो गर्नुभयो ।

कैलालीको भजनी नगरपालिकाका बाढी प्रभावित परिवार हुलाकी सडकमा बसेका छन् । बाढीका कारण त्यहाँ आठ हजार बिघा जमिनमा लगाएको धानबालीमा समेत असर गरेको छ । बाला लाग्दै गएको धानबालीमा बाढी क्षति गरेको छ ।

हुलाकी सडकमा बसेकाहरू एकसरो लुगामा रहेका स्थानीय रुपा चौधरीले बताउनुभयो । ‘ज्यान बाँचे दुःखसुख गरी खाइएला, अब सम्पत्ति बगेको हिसाब गरिसाध्य छैन’, उहाँले भन्नुभयो । चुरे मुहान भएर बग्ने पथरैया, कान्द्रा, काँढा, मोहना, खुटिया, कटैनी नदीमा आएको बाढीले भजनी, कैलारी, जोशीपुर, टीकापुर, जानकी, धनगढीलगायतका पालिकामा डुबान भएको छ ।

टीकापुर नगरपालिका-८ को वनगाउँ क्षेत्रमा कर्णाली नदी गाउँभित्र पसेको छ । भजनी नगरपालिका सबै डुबानमा परेको र त्यसमा पनि वडा नं ३, ५, ७ र ८ बढी प्रभावित भएका भजनीका मेयर केवल चौधरीले जानकारी दिनुभयो ।

बाढीले गरेको क्षतिको तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको पनि उहाँले जानकारी दिनुभयो । पालिकाले बाढी प्रभावितलाई अत्यावश्यक सामान त्रिपाल, पानीलगायत वितरण गरेको छ ।

Previous articleलायन्स क्लब नेपालगञ्जद्धारा नीलसागरलाई खाद्यान्न प्रदान
Next article‘प्रकाश’ लाई पछि पार्दै ‘झिंगेदाउ’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here