
नेपालगञ्ज । सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको फिल्म ‘प्रेमगीत-३’ को हिन्दी संस्करणले भारतमा सुखद सुरूआत गरेको छ ।
भारतीय ट्रेड विश्लेषक तरण आदर्शका अनुसार फिल्मले पहिलो दिन १ करोड ४७ लाख रूपैयाँ (९२ लाख भारतीय रूपैयाँ) कमाएको छ ।
‘सीमित शोका बाबजुद फिल्मले राम्रो व्यापार गरेको छ,’ उहाँले ट्विटरमा लेख्नुभएको छ, ‘टिकटको दर कम भएका कारण फिल्मको कमाइ थोरै भएको हो । फिल्मको व्यापार २/३ दिनमा आफ्नो लयमा फर्किने छ ।’
फिल्म निर्देशनमा सेनले स्वर्गीय छेतेन गुरुङसँग सहकार्य गर्नुभएको छ । फिल्मको कथा पनि निर्देशक गुरुङले नै तयार पार्नुभएको हो ।
प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवा लगायत कलाकारको अभिनय छ।
फिल्मले दर्शकबाट मिश्रित प्रतिक्रिया पाइरहेको छ।





