नेपालगञ्जमा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण शुरु

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले आजदेखि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको छ ।

वडा नम्बर २२ बाट सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको हो । राष्ट्रिय बाणिज्य बैंकले वडा कार्यालयमै पुगेर भत्ता वितरण गर्न थालेपछि स्थानीय खुसी भएका छन् ।

नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, वडा नम्बर २२ का वडा अध्यक्ष अब्दुल गफ्फार हलवाईसमक्ष खुसी प्रकट गर्दै वडावासीले नेपालगञ्ज उपमहानगरपालिकालाई धन्यवाद दिएका छन् ।

सामाजिक सुरक्षा भत्ता बुझ्न पुगेका स्थानीय घर छेउँबाटै सेवा पाएपछि खुसीले गदगद भएका छन् । उनीहरुको मुहारमा मुस्कान भरिएको देखिन्थ्यो ।

८५ बर्षीय हस्मात अलीले वडाबाटै भत्ता वितरण शुरु भएपछि आफूलाई निकै खुसी लागेको बताउनुभयो । उहाँले बैंकमा लाइन बस्नुपर्ने झञ्झटबाट मुक्ति मिलेको बताउनुभयो ।

७५ बर्षीया सन्तोखिया काँदुले वडाबाटै सामाजिक सुरक्षा भत्ता पाउने भएपछि आफूहरु जस्तो बृद्धबृद्धालाई निकै सहज भएको बताउनुभयो ।सामाजिक सुरक्षा भत्ता वितरण कार्यको अवलोकन गर्न वडा नम्बर २२ को कार्यालयमा पुग्नुभएका नगर प्रमुख विष्टले जेष्ठ नागरिक र अपांगता भएकाहरुलाई बैंकमा घण्टौं लाइन बस्नुपर्ने अवस्थाको अन्त्य गर्न वडाबाटै सामाजिक सुुरक्षा भत्ता वितरण सुरु गरिएको बताउनुभयो ।

उहाँले आफूहरुले निर्वाचनका बेला गरेको प्रतिबद्धता अनुरुप नागरिकको सहजताका लागि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको बताउनुभयो ।

उपप्रमुख राईले जनताको सहजताका लागि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण कार्यले नागरिकको अनुहारमा खुसी देखिँदा आफूहरुलाई सन्तोष मिलेको बताउनुभयो ।

राष्ट्रिय बाणिज्य बैंक नेपालगञ्ज शाखाका सहायक प्रबन्धक अनुप न्यौपानले वडा नम्बर २२ का ३ सय ७८ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिने जानकारी दिनुभयो ।

उहाँले अहिलेलाई नेपालगञ्जका १४ वटा वडामै पुगेर भत्ता वितरण गर्ने गरी नेपालगञ्ज उपमहानगरपालिकासंग सहकार्य गरिएको बताउनुभयो ।

Previous articleजानकीमा आर्थिक सहायता बन्द
Next articleशिक्षक संगठन, बाँकेद्धारा शुुभकामना आदान प्रदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here