
नेपालगञ्ज । दुई दिनदेखि भइरहेको निरन्तरको वर्षाका कारण राप्ती नदीमा पानीको सतह खतराको लेबल पार गरेको छ । जिल्ला बिपद् व्यवस्थापन समिति बाँकेका अनुसार राप्ती नदीमा बुधबार पानीको सतह खतराको लेबल पार गरेको हो ।
बाँकेस्थित कुसुम जलमापन केन्द्रका अनुसार बुधबार साँझ साढे पाँच बजेको समयमा खतराको लेबल पार गरेको छ । पानीको सतह निरन्तर बढिरहेका कारण नदी छेउँको तल्लो तटीय क्षेत्रका बासिन्दाहरुलाई सर्तकता अपनाउन अनुरोध गरिएको छ ।
मापन केन्द्रका अनुसार नदीमा साँझ मापन गरिएको पानीको लेबल ६ दशमलव ४५ मिटर पुगेको जिल्ला आपतकालिन कार्य संचालन केन्द्र बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो । नदीमा पानीको सतह ५ मिटर पुगेपछि सतर्कता तह र ५ दशमलव ४ मिटर पुगेपछि खतरा तह मानिन्छ ।
जिल्ला बिपद व्यवस्थापन समितिले एक सूचना जारी गर्दै बिहीबार बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । तटीय क्षेत्रका बासिन्दाले सुरक्षित स्थानको पहिचान गरी तयारी अवस्थामा रहन र नी किनारमा जाने, दाउरा संकलन गर्ने, नुहाउने, माछा मार्ने जस्ता कार्य नगर्न अनुरोध गरिएको हो ।
यसका साथै बाढी तथा डुबान सम्बन्धि सूचना लिनु वा दिनु परेमा जिल्ला आपतकालिन कार्य संचालन केन्द्रको टेलिफोन नम्बर ०८१-५३५१११ मा सम्पर्क गर्न सक्नुहुनेछ ।





