
नेपालगञ्ज । धारा नेपालगञ्ज म्याराथन (नेपाल) र सारमंग देहरादुन म्याराथन (भारत) बीच म्याराथन मार्फत पर्यटन प्रवद्र्धन गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
दुवैं विश्व म्याराथनको सर्वोच्च निकाय एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड रोड रेश (एम्स) बाट मान्यता प्राप्त म्याराथन हुन् । सारमंग देहरादुन म्याराथन भारत उत्तराञ्चल प्रदेशको पहिलो एम्स मान्यता प्राप्त म्याराथन हो ।
सारमंग देहरादुन म्याराथनका तर्फदेखि अनिल मोहन र धारा नेपालगञ्ज म्याराथनका तर्फबाट संस्थापक अध्यक्ष टीएस ठकुरीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । सम्झौतापछि सारमंग देहरादुन म्याराथन रेश डाइरेक्टर अनिल मोहनले खुशी व्यक्त गर्नुभयो ।
‘एशियाका दुई सहरमा हुने प्रतिष्ठित म्याराथनहरुबीच एकअर्कालाई सहयोग गर्ने उद्देश्यले सम्झौता गर्न पाउँदा धेरै खुशी छौं । यस सम्झौताले म्याराथन पर्यटन प्रवद्र्धन हुने विश्वास लिएका छौं ।’ उहाँले भन्नुभयो–‘उत्तराखण्ड र नेपाल दुवैको पहाडी रहनसहन, संस्कृति र भौगोलिक बनोट समानता छ । हामी नेपालबाट आउने धावकहरुलाई स्वागत गर्न सदैव आतुर रहनेछौं ।’
सारमंग देहरादुन म्याराथन यही अक्टोबर १६ (मंसिर ३० गते) हुनेछ । धारा नेपालगञ्ज म्याराथनको आठौं संस्करण भने मंसिर २४ गते हुनेछ । देहरादुन म्याराथनसँग सहकार्य गर्न पाउँदा नेपालगञ्ज म्याराथनका संस्थापक अध्यक्ष ठकुरीले धार्मिक पर्यटनमा समेत ठुलो टेवा पुग्ने बताउनुभयो ।
‘अधिकांस हिन्दु धर्मावलम्बीहरुका लागि हरिद्वार, ऋषिकेश ठुलो तीर्थ स्थल हो, नेपालगञ्जस्थित बागेश्वरी शक्तिपीठ पनि उत्तिकै महत्वपुर्ण हो ।’ ठकुरीले भन्नुभयोे–‘यो सम्झौताले धार्मिक पर्यटनको समेत प्रवद्र्धन हुने अपेक्षा गरेका छौं । साथै धेरैभन्दा धेरै नेपाली धावकले विदेश भुमिमा खेल्ने अवसर पनि अर्को महत्वपुर्ण पाटो हुनेछ ।’
देहरादुनमा म्याराथनमा सहभागिताका लागि स्थानीय खेलाडीलाई उच्च प्राथमिकतामा राख्दै राष्ट्रियस्तरका धावक धाविकालाई समेत अवसर प्रदान गरिने ठकुरीले जानकारी गराउनुभयो ।
एक दशक लामो सशस्त्र द्वन्द्धलाई औपचारिक विश्राम दिन नेपाल सरकार र विद्रोही माओवादीबीच बृहत शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै विगत आठ बर्षदेखि हरेक मंसिरको पहिलो शानिबार नेपालगञ्ज म्याराथन हुँदै आएको छ ।
यसबर्ष आम निर्वाचनका कारण मंसिर २४ गते म्याराथन हुनेछ । क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभ गञ्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको आठौं धारा नेपालगञ्ज म्याराथन यसबर्ष भने आम निर्वाचनका कारण मंसिर २४ गते आयोजना हुनेछ ।
नेपालगञ्ज म्याराथनको वेभसाइट (www.nepalgunjmarathon.com) मा गएर फर्म दर्ता गर्न सकिने र दर्ता शुल्क भुक्तानी गर्न सकिने छ । गतबर्ष झैं यसबर्ष पनि बिभिन्न दश वटा विधामा स्पर्धा समावेश गरिएको छ ।
पुरुषतर्फ म्याराथन (४२.१९५किमी), महिलातर्फ हाफ म्याराथन (२१किमी), १० किमी पुरुष खुल्ला, ५ किमी महिला खुल्ला, ५ किमी स्कुलस्तरीय छात्र, ३ किमी स्कुल स्तरीय छात्रा, किड्स रन (८देखि १२ बर्ष उमेरसमुह), २ किमी कर्पोरेट रन, एक किमी ट्राइसाइकल र वाकाथन समावेश गरिएको छ ।
स्कुलस्तरीय दौड भने बाँके जिल्लास्तरीय मात्र हुनेछ । केही विधातर्फ नगद पुरस्कार राशीमा वृद्धि गरिनेछ । केही सरप्राइज प्याकेज पनि घोषणा गरिनेछ । आठौं संस्करणमा कम्तीमा आठ देशका धावकलाई सहभागी गराउने तयारी भइरहेको छ ।
पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र नेपालगञ्ज जातीय, धार्मिक तथा साम्प्रदायिक विविधता भएर पनि एकताको सुत्रमा बाँधिएको सदभावको शहर हो । देशको संघीय संरचनामा नेपालगञ्ज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुख धार्मिक एवं प्राकृतिक पर्यटकीय स्थलको मुख्य प्रवेश द्वार पनि हो ।
सामाजिक एकताको प्रतिक खेलकुद विधामार्फत शहरको चिनारी कायमै राख्न आठ बर्ष अघि नेपालगञ्ज म्याराथनले यात्रा प्रारम्भ गरेको थियो । नेपालगञज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ विजेता बन्नुभएको थियो ।
त्यसैगरी दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्ला निवासी भारतीय गोर्खा सेनामा कार्यरत दुर्गाबहादुर बुढा, चौथोमा नेपाल पुलिस क्लबका भुमिराज राई, पाँचौंमा सेनाका भिमबहादुर साउद, छैठौंमा नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की र सातौंमा एपीएफकै किरणसिंह बोगटी विजेता बन्नुभएको थियो भने महिला हाफ म्याराथनतर्फ सातौंमा गत बर्ष गोल्डेन गर्ल सन्तोषी श्रेष्ठ च्याम्पियन बन्नुभएको थियो ।
त्यसैगरी पहिलो संस्करणमा एपीएफका कृष्णेस्वरी सिन्तकला, दोस्रोमा एपीएफकी कान्छीमाया कोजु, तेस्रोमा आर्मीकी रेशु बस्नेत, चौथोमा एपीएफकै कान्छीमाया कोजु, पाँचौंमा आर्मीकी पुर्णलक्ष्मी न्यौपाने, छैटौंमा एपीएफकी पुष्पा भण्डारी विजेता बन्नुभएको थियो । दुई संस्करण जित्ने एकमात्र खेलाडी कान्छीमाया कोजु हुनुहुन्छ ।





